`

रास्वपाले निकालेपछि – ‘मेरो राजनीतिक हत्या भयो’

Nepal One HD ८ जेठ २०८३ १६:१६
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराका नेता चन्दन स्वर्णकार (शर्राफ)लाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय संगठन विभागका सचिव शंकर श्रेष्ठद्वारा जेठ ६ गते पठाइएको पत्रमार्फत उक्त निर्णयको आधिकारिक जानकारी गराइएको छ ।

अनुशासन आयोगमा बाराबाट निर्वाचित ४ जना सांसदहरुले स्वर्णकारविरुद्ध उजुरी दिएका थिए । आर्थिक अनियमिता गरेको, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायत आरोप लगाउँदै उनलाई कारबाही गरिएको रास्वपाले जनाएको छ ।

पार्टीको उक्त निर्णयप्रति आपत्ति जनाउँदै स्वर्णकारले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको दाबी गर्दै यसलाई ‘राजनीतिक हत्या’ को संज्ञा दिएका छन् ।

स्वर्णकारले जेठ ९ गते हुने बारा जिल्लाको विस्तारित बैठक र अधिवेशनको ठीक अघि आफूविरुद्ध षड्यन्त्र गरिएको आरोप लगाएका छन् । उनले कुनै निष्पक्ष छानबिनबिना नै केन्द्रले निर्णय गरेको दाबी गर्दै पार्टीभित्रको आन्तरिक दबाबका कारण आफूलाई निष्कासन गरिएको बताएका छन् ।

उनले पार्टीबाट हटाइए पनि आफ्नो राजनीतिक यात्रा समाप्त नभएको भन्दै स्वतन्त्र रूपमा जनताको सेवामा सक्रिय रहने बताएका छन् । महागढीमाई र बाराका जनताको समर्थन आफ्नो साथमा रहेको उनको भनाइ छ ।

स्वर्णकारले आगामी स्थानीय निर्वाचनमा जनताले नै आफ्नो राजनीतिक भविष्यको निर्णय गर्ने भन्दै न्यायको लडाइँमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा राखेको अभिव्यक्ति जस्ताको त्यस्तै :

‘अन्ततः मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा!’

‘आदरणीय आम जनसमुदाय, षड्यन्त्रको पराकाष्ठा कस्तो हुन्छ भन्ने कुराको अन्तिम प्रमाण यही पत्र हो। तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै, विना कुनै निष्पक्ष छानबिन, केन्द्रले जेठ ९ गते हुन लागेको बाराको विस्तारित बैठक र अधिवेशनको ठीक अगाडि मलाई साधारण सदस्य समेत नरहने गरी खारेज गरेको आधिकारिक पत्र पठाएको छ।

अधिवेशनमा इमानदार पार्टी सदस्यहरूले मलाई पुनः जिल्ला सभापति चुन्ने डरले माननीयहरूको दबाबमा मलाई पार्टीबाटै निष्कासन गरियो। रास्वपाको एउटा प्राविधिक पानाबाट मेरो नाम हटाइएला, तर महागढीमाई र बाराका स्वाभिमानी जनताको मुटुबाट मेरो नाम कसैले हटाउन सक्ने छैन।

रास्वपाको यो अन्यायपूर्ण निर्णय र जेठ ९ गतेको कथित विस्तारित बैठकलाई बाराका सच्चा कार्यकर्ताहरूले कसरी जवाफ दिनेछन्, त्यो समयले बताउनेछ। मेरो राजनीतिक यात्रा रास्वपाको लोगोमा सकिएको छैन, बरु महागढीमाईको माटो र यहाँका जनताको सेवाका लागि अब स्वतन्त्र रूपमा अझ बलियो भएर अगाडि बढ्नेछ। मेरो फैसला आगामी स्थानीय निर्वाचनमा महागढीमाईका जनताले गर्नेछन्। न्यायको यो लडाइँमा मलाई साथ दिनुहुने सम्पूर्णमा आभार!

जय बारा! जय महागढीमाई!’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *