नाकामा फसेका इन्डोनेसियाली नागरिक स्वदेश फर्किंदै
एजेन्सी। इजरायली सेनाले गाजाका लागि मानवीय सहायता सामग्री बोकेका दुई जहाजलाई समुद्री नाकामा रोकेर नियन्त्रणमा लिएका नौ जना इन्डोनेसियाली नागरिक हाल स्वदेश फर्किरहेको इन्डोनेसियाका विदेशमन्त्री सुगियोनोले बताएका छन् ।
विदेशमन्त्री सुगियोनोका अनुसार ती स्वयंसेवकहरू इजरायली क्षेत्रबाट टर्कीको इस्तानबुलतर्फ प्रस्थान गरेका छन्। छिट्टै इन्डोनेसिया पुग्ने अपेक्षा गरिएको छ । इन्डोनेसियाको विदेश मन्त्रालयले पनि उनीहरूको फिर्ती प्रक्रिया पुष्टि गरेको छ ।
सुगियोनोले इन्डोनेसियाली नागरिकहरूको रिहाइ तथा स्वदेश फिर्ती प्रक्रिया सरकारले गरेको कूटनीतिक प्रयास र सम्बन्धित पक्षहरूसँगको समन्वयका कारण सम्भव भएको बताए । साथै उनले सहयोग तथा समर्थनका लागि टर्की सरकारप्रति आभार व्यक्त गरेका छन् ।
यसैबीच, स्वयंसेवकहरूले नजरबन्दको क्रममा भोगेको भनिएको अमानवीय व्यवहारबारे जानकारी आएपछि इन्डोनेसियाले त्यसको कडा निन्दा गरेको छ ।
विदेशमन्त्री सुगियोनोले यस्ता कार्य अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै सबै नागरिकको सुरक्षित फिर्ती सुनिश्चित गर्न सरकार सक्रिय रूपमा लागिरहेको बताएका छन् ।
