भ्रम,विज्ञान र विश्वासको घेराउमा ‘टेलिकिनेसिस’
काठमाडौं। मानव सभ्यताको इतिहासभरि मानिसले आफूलाई घेरेको भौतिक संसारभन्दा पर केही अदृश्य शक्ति वा क्षमताको रुपमा देख्दै आएको छ । त्यही कल्पनाशीलताको एक उदाहरण हो टेलिकिनेसिस। जहाँ कुनै वस्तुलाई हातले नछोई, मनको शक्तिबाटै त्यसमा हाबी हुन सकिन्छ वा कन्ट्रोल गर्न सकिन्छ भन्ने दाबी गरिन्छ ।
यसको दाबी विभिन्न समय, संस्कृति र विश्वास प्रणालीमा फरक-फरक स्वरूपमा प्रस्तुत हुँदै आएको छ।
टेलिकिनेसिस प्राचीन ग्रीक शब्द ‘टेले’ – टाढा र ‘किनेसिस’ – गति मिलेर बनेको हुन्छ। जसलाई साइकोकिनेसिस पनि भनिन्छ । यसको अर्थ, कुनै भौतिक वस्तुलाई प्रत्यक्ष शारीरिक सम्पर्क बिना, मानसिक शक्तिको आधारमा चलाउन सकिने क्षमता हो ।
यसलाई प्रायः ‘मनले पदार्थ नियन्त्रण गर्ने शक्ति’ भनेर चित्रण गरिएकाले मानव कल्पनालाई लामो समयदेखि आकर्षित गर्दै आएको छ। तर आधुनिक विज्ञानको दृष्टिमा यो अवधारणा अझैसम्म प्रमाणविहीन नै छ।
इतिहास हेर्दा टेलिकिनेसिस र यस्तै अलौकिक दाबीहरू उन्नाइसौँ शताब्दीको अध्यात्मवादी आन्दोलनसँग जोडिन्छन् । त्यतिबेला केही व्यक्तिहरूले आत्मासँग सम्पर्क, वस्तुहरूको स्वतः गति, र अदृश्य शक्तिहरूको प्रभावजस्ता घटनाहरू सार्वजनिक रूपमा प्रस्तुत गरेका थिए।
सुरुमा यस्ता घटनाहरू रहस्यमय र चमत्कारिक मानिए पनि पछि विस्तृत परीक्षणहरूले तीमध्ये धेरैजसो घटनामा छलकपट, ध्यान विचलन गर्ने तरिका, वा भौतिक उपकरणहरूको प्रयोग भएको देखियो ।
बीसौँ शताब्दीमा टेलिकिनेसिसलाई प्रयोगशालामा प्रमाणित गर्ने प्रयासहरू पनि गरिए। केही अनुसन्धानकर्ताहरूले पासा, हल्का वस्तु, वा इलेक्ट्रोनिक उपकरणहरूमा मानसिक प्रभाव परीक्षण गर्ने प्रयास गरे। प्रारम्भिक चरणमा केही ‘सकारात्मक’ जस्तो देखिने परिणामहरू आए पनि ती अध्ययनहरू पुनः दोहोर्याउँदा स्थिर नतिजा दिन असफल भए।
सन् १९८० को दशकमा गरिएको महत्वपूर्ण वैज्ञानिक मूल्याङ्कनहरूले टेलिकिनेसिसप्रति थप स्पष्ट दृष्टिकोण प्रस्तुत गरे । संयुक्त राज्य अमेरिकामा गठन गरिएका वैज्ञानिक समितिहरूले लामो अध्ययनपछि निष्कर्ष निकाले,अतिरिक्त इन्द्रिय धारणा, मानसिक सम्पर्क, वा वस्तुहरूलाई मानसिक रूपमा चलाउने क्षमताको कुनै ठोस प्रमाण छैन भनेर प्रमाणित गरे ।
भौतिक विज्ञानको दृष्टिबाट हेर्दा टेलिकिनेसिसको अवधारणा आधारभूत वैज्ञानिक नियमहरूसँग गम्भीर रूपमा विरोधाभासी देखिन्छ। ऊर्जाको नियम अनुसार ऊर्जा सिर्जना वा नष्ट हुन सक्दैन। रूप परिवर्तन हुन सक्छ। यदि मनले वस्तु सार्न सक्ने शक्ति उत्पादन गर्छ। भने त्यो ऊर्जा कहाँबाट आउँछ। भन्ने प्रश्न अनिवार्य हुन्छ।
संवेग संरक्षणको नियम अनुसार कुनै पनि वस्तु चल्न बाह्य बल आवश्यक हुन्छ। जुन भौतिक स्रोतबाट उत्पन्न हुनुपर्छ। टेलिकिनेसिसले यस्तो कुनै स्रोत स्पष्ट गर्न सकेको छैन।
भौतिकशास्त्रीहरूको विचारमा यदि यस्तो कुनै शक्ति अस्तित्वमा हुन्थ्यो भने त्यसले प्रकृतिमा स्पष्ट र मापनयोग्य प्रभाव देखाउनुपर्थ्यो । उदाहरणका लागि, दैनिक जीवनका सबै भौतिक प्रणालीहरूमा यसको असर देखिन्थ्यो। तर त्यस्तो कुनै संकेत कहिल्यै भेटिएको छैन।
केही वैज्ञानिकहरूले यस्तो काल्पनिक शक्तिलाई ‘पाँचौँ बल’ को रूपमा व्याख्या गर्नुपर्ने सम्भावनाको चर्चा समेत गरेका छन्। तर यस्तो कुनै बलको प्रमाण अहिलेसम्म प्राप्त भएको छैन।
मानव मनोविज्ञानले पनि टेलिकिनेसिसप्रतिको विश्वासलाई बुझ्न महत्वपूर्ण भूमिका खेल्छ। मानिसको मस्तिष्कले अनियमित घटनामा पनि अर्थपूर्ण सम्बन्ध खोज्ने प्रवृत्ति राख्छ। जब कुनै व्यक्ति कुनै घटना चाहन्छ। र त्यसपछि त्यस्तै घटना हुन्छ। उसलाई आफ्नो सोचले त्यसलाई प्रभाव पारेको जस्तो लाग्न सक्छ। तर वास्तविक रूपमा त्यो संयोग हुन सक्छ। यसलाई ‘नियन्त्रणको भ्रम’ भनिन्छ।
त्यसैगरी ‘पुष्टि पूर्वाग्रह’ ले मानिसलाई आफ्नो विश्वासलाई समर्थन गर्ने प्रमाण मात्र याद गराउने र विरोधी प्रमाणलाई बेवास्ता गराउने गर्छ। उदाहरणका लागि, यदि कसैले टेलिकिनेसिसमा विश्वास गर्छ भने उसले सफल जस्तो देखिने घटनालाई मात्र सम्झन्छ। असफल प्रयासहरूलाई भने बिर्सिन्छ।
‘फ्रेम इलुजन’ले पनि अनियमित घटनामा अर्थपूर्ण संरचना देख्ने प्रवृत्ति सिर्जना गर्छ। जसले अलौकिक विश्वासलाई बल दिन्छ।
इतिहासमा धेरै चर्चित टेलिकिनेसिस प्रदर्शनहरू पछि जादु वा छलकपट भएको प्रमाणित भएका छन्। केही प्रदर्शनकर्ताहरूले अदृश्य धागो, सूक्ष्म शारीरिक चाल, चुम्बकीय प्रभाव, वा स्थिर विद्युत प्रयोग गरेर वस्तुहरू सार्ने वा बाङ्ग्याउने गरेका थिए।
प्रयोगशालामा गरिएका केही घटनाहरूमा समेत अनुसन्धानकर्ताहरूलाई भ्रमित पार्न सफल भएका उदाहरणहरू समेत भेटिन्छन्।
धातु बाङ्ग्याउने दाबीहरू टेलिकिनेसिसको सबैभन्दा प्रसिद्ध दृष्टान्त हुन् । चम्चा वा चाबी बाङ्गिएको जस्तो देखिने धेरै घटनाहरू पछि सामान्य भौतिक कारणले व्याख्या गर्न सकिने देखिन्छ।
तर वैज्ञानिकहरुको प्रयोगमा केही अवस्थामा वस्तु पहिल्यै कमजोर बनाइएको हुन्थ्यो त केही अवस्थामा सूक्ष्म दबाब प्रयोग गरिएको हुन्थ्यो। र केही अवस्थामा वातावरणीय प्रभाव नै पर्याप्त हुन्थ्यो।
वैज्ञानिक प्रमाण नभए पनि टेलिकिनेसिसप्रतिको विश्वास पूर्ण रूपमा लोप भएको छैन । यसको एउटा कारण मानव कल्पनाशक्ति लाई मानिन्छ। जसले असाधारण क्षमताप्रति आकर्षण सिर्जना गर्छ।
अर्को कारण हो चलचित्र, उपन्यास र टेलिभिजनले यस्ता शक्तिलाई नायकत्व र रहस्यसँग जोडेर प्रस्तुत गर्नु हो । व्यक्तिगत अनुभव र सांस्कृतिक प्रभावले पनि यस्तो विश्वासलाई निरन्तरता दिन सक्छ।
वैज्ञानिक दृष्टिमा कुनै पनि दाबीलाई स्वीकार गर्न तीन प्रमुख आधार आवश्यक हुन्छ, मापनयोग्य प्रमाण, दोहोर्याउन सकिने प्रयोग, र स्वतन्त्र रूपमा पुष्टि गर्न सकिने परिणाम। टेलिकिनेसिसका कुनै पनि दाबीहरूले भने मापदण्ड पूरा गर्न असफल भएका छन्। वैज्ञानिक समुदायमा यसको अस्तित्वलाई समर्थन गर्ने कुनै ठोस आधार भने भेटिएको छैन ।
