कोइला खानी विष्फोट हुँदा ८२ जनाको मृत्यु
चीन। चीनको एक कोइला खानीमा भएको भीषण ग्यास विष्फोटमा परी ठूलो जनधनको क्षति भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कम्तीमा ८२ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार शुक्रबार साँझ ७ः२९ बजे शान्सी प्रान्तस्थित तोंगझोउ ग्रुपद्वारा सञ्चालित कोइला खानीमा विष्फोट भएको थियो । घटनाका बेला खानीभित्र २४७ जना मजदुर कार्यरत रहेका बताइएको छ ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार ग्यास विष्फोटका कारण भएको दुर्घटनापछि घटनास्थलमा उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी छ । केही मजदुर अझै सम्पर्कविहीन रहेको आशंका गरिएको छ ।
दुर्घटनापछि चीनका राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार भइरहेको र बेपत्ता मजदुरहरूको खोजी कार्य जारी रहेको बताएका छन् । उनले घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिँदै दुर्घटनाका लागि जिम्मेवार व्यक्ति तथा निकायलाई कानुनी दायरामा ल्याइने बताएका छन् ।
