इंग्ल्यान्डले घोषणा गर्यो २६ सदसीय विश्वकप टोली
काठमाडौँ । इंग्ल्याण्डले आगामी फिफा विश्वकपका लागि २६ सदस्यीय टोली सार्वजनिक गरेको छ। प्रशिक्षक थोमस टुचेलले यसै महिनाको अन्त्यमा सुरु हुने विश्वकपका लागि अन्तिम टोली घोषणा गरेका हुन्।
टोलीमा स्ट्राइकर इभान टोनी र ओली वाटकिन्सलाई समावेश गरिएको छ। टोनीले यस सिजन साउदी प्रो लिग क्लब अल-अहलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा स्थान बनाएका हुन्। अल-अहलीले एएफसी च्याम्पियन्स लिग एलिट जित्दा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। यस्तै, वाटकिन्सले एस्टन भिल्लाका लागि प्रभावशाली प्रदर्शन गर्दै टोलीमा पर्न सफल भएका हुन्। एस्टन भिल्लाले हालै युईएफए युरोपा लिग उपाधि जित्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अवसर समेत सुरक्षित गरेको छ।
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कोबी माइन्उ पनि टोलीमा परेका छन्। उनले सिजनको अन्त्यतिर अन्तरिम प्रशिक्षक माइकल क्यारिकको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरेका थिए। तर अनुभवी डिफेन्डर ह्यारी म्याग्वायर भने अन्तिम टोलीमा अटाउन सकेनन्।
चेल्सीका कोल पाल्मर, जसले फिफा क्लब विश्वकप २०२५ जिताउन योगदान दिएका थिए र युरो २०२४ को फाइनलमा स्पेनविरुद्ध गोल गरेका थिए, चोटका कारण प्रभावित सिजनपछि टोली बाहिर परेका छन्। म्यानचेस्टर सिटीका फिल फोडेन र रियल म्याड्रिडका राइट–ब्याक ट्रेन्ट अलेक्जेन्डर–अर्नोल्ड पनि अन्तिम टोलीमा स्थान बनाउन असफल भए।
टुचेलले छनोट चरणमा शतप्रतिशत जित दिलाएका अधिकांश खेलाडीलाई निरन्तरता दिएका छन्। कप्तान ह्यारी केनको नेतृत्वमा इंग्ल्याण्डले १९६६ पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ।
इंग्ल्याण्डको २६ सदस्यीय टोली-
गोलरक्षक: डिन हेन्डरसन, जोर्डन पिकफोर्ड, जेम्स ट्राफर्ड
डिफेन्डर: ड्यान बर्न, मार्क गुएही, रिस जेम्स, एज्री कोन्सा, टिनो लिभ्रामेन्टो, निको ओ’राइली, जारेल क्वान्सा, जेड स्पेन्स, जोन स्टोन्स
मिडफिल्डर: एलियट एन्डरसन, जुड बेलिङ्घम, एबेरेची एजे, जोर्डन हेन्डरसन, कोबी माइन्उ, डेक्लान राइस, मोर्गन रोजर्स
फर्वार्ड: एन्थोनी गोर्डन, ह्यारी केन, नोनी मडुके, मार्कस रासफोर्ड, बुकायो साका, इभान टोनी, ओली वाटकिन्स
