`

पछिल्लो १० महिनामा नेपालले गर्यो १७ करोडको चिज आयात

Nepal One HD ९ जेठ २०८३ १३:३१
अर्थ समाचार

काठमाडौँ । नेपालमा दुग्धजन्य पदार्थमा आत्मनिर्भर रहेको दाबी गरिए पनि चिजको आयात भने बढ्दो क्रममा देखिएको छ। पछिल्लो १० महिनामा मात्रै साढे १७ करोड रुपैयाँ बराबरको चिज आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले कुल १७ करोड ५३ लाख ४१ हजार रुपैयाँ बराबरको चिज आयात गरेको छ। सोही अवधिमा २ लाख ६ हजार ९ सय १७ किलो चिज भित्रिएको छ भने यसबाट सरकारले ५ करोड १९ लाख ३३ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ।

नेपालमा आयात हुने चिजमध्ये सबैभन्दा ठूलो हिस्सा भारतको रहेको छ। १० महिनामा भारतबाट मात्रै १२ करोड ५८ लाख ५५ हजार रुपैयाँ बराबरको १ लाख ५९ हजार १६६ किलो चिज आयात भएको छ। भारतबाट मुख्यतः कोरेको, धुलो र अन्य सामान्य प्रकारका चिज बढी आयात हुने गरेको देखिन्छ।

युरोपेली मुलुक फ्रान्सबाट भने महँगो तथा प्रशोधित चिज बढी मात्रामा आयात हुने गरेको छ। फ्रान्सबाट २ करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको २० हजार ४०० किलो चिज भित्रिएको छ, जसबाट सरकारले ६५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

इटालीबाट ६ हजार २५४ किलो चिज आयात हुँदा १ करोड ३२ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ। यसको औसत मूल्य प्रति किलो २,१०० रुपैयाँभन्दा बढी पर्न जान्छ।

यस्तै, चीनबाट ३३ लाख ४ हजार रुपैयाँ बराबरको १३ हजार ८८८ किलो चिज आयात भएको छ भने अस्ट्रेलियाबाट २२ लाख ४० हजार रुपैयाँको ५७८ किलो चिज भित्रिएको छ।

अन्य देशहरूतर्फ जर्मनीबाट २० लाख ९१ हजार, नेदरल्यान्ड्सबाट १६ लाख १७ हजार र डेनमार्कबाट ३ लाख ६८ हजार रुपैयाँ बराबरको चिज आयात भएको छ। युएई, कतार र अमेरिकाबाट पनि सानो परिमाणमा चिज आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *