पार्टी संकटमा रहँदा ओलीको पक्षमा उभिए बादल, भट्ट र बस्नेत[भिडियाे]
काठमाडौं। एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्न नहुने बताएका छन् ।
पार्टी र कम्युनिस्ट आन्दोलन संकटमा परेको बेला अध्यक्ष ओलीको राजीनामा माग्नु गलत हुने उनीहरूको भनाइ छ । शुक्रबारको सचिवालय बैठकमा उपाध्यक्ष बादलले प्रष्ट रूपमा भनेका थिए, ‘पार्टी संकटमा पर्दा राजीनामा होइन, नेतृत्वको संरक्षण गर्ने हो ।’
यसअघि ओली पक्राउ पर्दा पनि बादलले कार्यवाहक अध्यक्षको भएर एमाले हाँकेका थिए । उनले हरेक मोर्चामा अध्यक्ष ओलीको नेतृत्व आवश्यक रहेको र उनकै नेतृत्वमा देशले समृद्ध र सखुी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने दाबी गर्दै आएका छन् ।
उपमहासचिव लेखराज भट्टले पनि पार्टी संकटमा परेको बेला नेतृत्वबाट ओलीको विकल्प खोज्नु बुद्धिमानी नहुने बताएका छन् । उनले नेतृत्वको रक्षा नै आजको एमालेको आवश्यकता भएको बताए ।
तर, यदि, नेतृत्व हस्तान्तरण र पुस्तान्तरण खोजेको हो भने ओलीले मात्रै नभएर ६० वर्ष माथिका सबै एमाले नेताले राजीनामा दिनुपर्ने बताए ।
एमाले सचिव महेश बस्नेतले पनि ओलीको राजीनामा माग्नु अहिले सान्दर्भिक नहुने बताएका छन् । पार्टीका केही सचिवालय सदस्यले राजीनामा मागेपछि बादल, भट्ट र बस्नेत ओलीको पक्षमा उभिएका हुन् ।
