(लु) का कारण १६ जनाको मृत्यु
एजेन्सी। दक्षिण भारतका विभिन्न क्षेत्रमा यस वर्षको गर्मीमा चलेको अत्यधिक तातो लहर (लु) का कारण कम्तीमा १६ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। देशका धेरै भागमा फैलिएको तीव्र गर्मीपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ।
भारतमा गर्मी मौसम सामान्य भए पनि पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण लु पहिलेभन्दा लामो समयसम्म, बढी पटक र अझ तीव्र रूपमा देखिन थालेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
करिब एक अर्ब ४० करोड जनसंख्या भएको भारतका विभिन्न सहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन प्रभावित भएको छ।
दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा धेरै मृत्यु दर्ता भएको छ। त्यहाँका राजस्व मन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यभर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनको कार्यालयले जारी गरेको सूचनामा अत्यधिक गर्मी असामान्य स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानीका उपाय अपनाउन निर्देशन दिइएको छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी गराउने, रगत बाक्लो बनाउने र गम्भीर अवस्थामा अंगहरूले काम गर्न छोड्ने जोखिम बढाउने गर्छ।
तेलङ्गानाको स्थानीय प्रशासनले वृद्ध, बालबालिका र गर्भवती महिलालाई अत्यावश्यक नभएसम्म दिउँसो बाहिर ननिस्कन आग्रह गरेको छ।
भारतीय मौसम विभागले पनि देशका धेरै क्षेत्रमा सामान्यभन्दा बढी तापक्रम र लु अझै जारी रहने चेतावनी दिएको छ।
राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रमा यस साता लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले विद्युत् माग रेकर्ड स्तरमा पुर्याएको छ।
विशेषज्ञहरूका अनुसार दिन मात्र होइन, राति पनि तापक्रम उच्च रहँदा शरीरलाई पर्याप्त आराम नपाइने भएकाले स्वास्थ्य जोखिम अझ बढिरहेको छ।
विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको भारत हरितगृह ग्यास उत्सर्जन गर्ने देशमध्ये तेस्रो स्थानमा पर्छ र ऊर्जा उत्पादनका लागि कोइलामा उच्च निर्भरता राख्छ।
भारतले सन् २०७० सम्म शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ, जुन धेरै विकसित देशहरूको लक्ष्यभन्दा करिब दुई दशक पछाडि हो।
यसअघि सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। जुन भारतको हालसम्मकै सबैभन्दा उच्च तापक्रम मानिन्छ।
