२२ वर्षपछी प्रिमियर लिगको उपाधी आर्सनलको पोल्टामा
काठमाडौं । आर्सनलले २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेको छ। गएराति दोस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीले बर्नमाउथसँग १–१ गोलको बराबरी खेलेपछि आर्सनलको उपाधि यात्रा सुनिश्चित भएको हो।
प्रिमियर लिगमा अब प्रत्येक टोलीको एक-एक खेल मात्र बाँकी छ। ३७ खेलबाट ८२ अंक जोडेको आर्सनल शीर्षस्थानमा रहेको छ भने सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ। बराबरीसँगै सिटीले अब अन्तिम खेल जिते पनि आर्सनललाई उछिन्ने सम्भावना समाप्त भएको छ।
बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो अग्रता लिएको थियो। खेलको ३८औं मिनेटमा क्रुपी जुनियरले गोल गर्दै बर्नमाउथलाई अघि बढाए। त्यसपछि खेलको अन्तिम समयमा एर्लिङ हालान्डले सिटीका लागि बराबरी गोल फर्काए।
आर्सनलले यसअघि सन् २००४ मा अन्तिमपटक प्रिमियर लिगको उपाधि जितेको थियो। क्लबको इतिहासमा यो १४औं शीर्ष डिभिजन उपाधि तथा चौथो प्रिमियर लिग ट्रफी हो।
