`

कांग्रेस फुट्न नदिन शेखरका पाँच प्रस्ताव, के-के हुन्?

Nepal One HD ११ जेठ २०८३ १२:१६
नेपाली कांग्रेस

काठमाडौं । विशेष महाधिवेशनपछि आन्तरिक विवाद चुलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइरालाले पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीभित्र बढ्दो ध्रुवीकरण अन्त्य गर्दै सहमतिका आधारमा अगाडि बढ्नुपर्ने धारणा राख्दै उनले नेतृत्वसमक्ष विभिन्न सुझाव दिएका हुन् ।

कोइरालाले सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायत नेताहरूसँग भएको छलफलमा पार्टी एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनका अनुसार आफूले कुनै पद वा वरिष्ठताको माग नगरेको, बरु पार्टीलाई विभाजनबाट जोगाउने उद्देश्यले प्रस्ताव राखेको हो ।

आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले पार्टीभित्र संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने बताएका थिए । उनले पार्टीभित्र अविश्वास र गुटगत तनाव बढ्दै गएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न स्पष्ट संरचनागत सहमति आवश्यक रहेको धारणा राखे ।

कोइरालालाई चैत २२ गते महामन्त्री प्रदीप पौडेल र वैशाख २३ गते सभापति गगन थापाले विशालनगरस्थित सम्पर्क कार्यालयमै पुगेर भेटेका थिए । त्यसयता भएका विभिन्न अनौपचारिक छलफलमा उनले पाँच प्रस्ताव राखेको उनको सचिवालयले जनाएको छ ।

यस्ता छन् काङ्ग्रेस फुट्न नदिन शेखरका पाँच प्रस्ताव

१.  १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने।

२. १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने।

३. १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने।

४. कार्यसम्पादन समिति सभापतिको बहुमत हुने गरी गठन गर्ने।

५. निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति तथा अन्य समितिहरू आपसी सहमतिबाट मात्रै गठन गर्ने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *