तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने
काठमाडौं। तनहुँमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यो आयोजना अर्धजलाशययुक्त (रन–अफ–रिभर र केही जलाशययुक्त मिश्रण) प्रकृतिको हुनेछ।
आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उक्त परियोजना एसियाली विकास बैंक (एडिबी)को वित्तीय सहयोगमा निर्माण गरिनेछ। कुल २२७ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत स्वपुँजी (इक्विटी) र ७० प्रतिशत ऋण लगानी रहनेछ।
आयोजनाको संरचनागत विवरणअनुसार बाँध तनहुँको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ मा निर्माण हुनेछ। त्यस्तै, विद्युत् गृह, कर्मचारी आवास र मुख्य सुरुङ (टनेल) देवघाट गाउँपालिका–३ र ४ क्षेत्रमा रहनेछन्।
आयोजना प्रमुख श्रेष्ठले विद्युत् गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्।
यो आयोजना सम्पन्न भएपछि देशको विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। साथै, आन्तरिक माग पूरा गर्न र निर्यात सम्भावना बढाउन पनि यसले सहयोग गर्ने विश्वास लिइएको छ।
