`

प्रमुख विपक्षी नेता आङ्देम्बेको नेतृत्वमा याङ्वरक बाढीपहिरोबारे सभामुखको ध्यानाकर्षण

Nepal One HD ११ जेठ २०८३ १९:५५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे नेतृत्वको पाँचथर र ताप्लेजुङका सांसदहरूको टोलीले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याललाई भेटेर पाँचथरको याङ्वरक गाउँपालिकामा बेमौसमी वर्षापछि आएको बाढी–पहिरोबाट भएको क्षतिबारे ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार पुगेको आङ्देम्बे नेतृत्वको टोलीले याङ्वरक गाउँपालिका–१ र २ नम्बर वडामा बाढी–पहिरोले ठूलो क्षति पुर्‍याएको भन्दै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्न तथा जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको हो ।

नेता आङ्देम्बेले नागरिकको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकारलाई तत्काल प्रभावकारी रूपमा परिचालन गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका थिए ।

सभामुख अर्यालले बाढी पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्दै सरकारको ध्यानाकर्षण गराउने बताएको पाँचथरका कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले बताए ।

टोलीमा कांग्रेस संसदीय दलका नेता आङ्देम्बेसँगै कांग्रेसकै सांसद केरुङ, एमाले सांसद भूमिका नेम्बाङ सुब्बा, ताप्लेजुङका एमाले सांसद क्षितिज थेबेलगायत थिए ।

यही ८ वैशाखको राति बेमौसमी भारी वर्षापछि गएको बाढी र पहिरोले याङ्वरक गाउँपालिकाको वडा नम्बर १ (च्याङ्थापु) र २ (फलैँचा) को विभिन्न ठाउँमा ठूलो क्षति पुर्‍याएको थियो । यी दुई वडाको बढी प्रभावित क्षेत्र भने बिरुवा र दोभाने हो ।

नेता आङ्देम्बेका अनुसार बाढी–पहिरोले याङ्वरक–१ को महमलाल खवासको घर र वस्तुभाउ बगायो भने कविराज राईको घर बगाएको थियो ।

बलबहादुर खालिङको किचन बगाउँदा बिरुवा क्षेत्रका भगिमान बेघा, गंगा बेघा र बालकुमार बेघाको घरमा समेत क्षति पुगेको उनले बताए ।

बाढी–पहिरोका कारण स्थानीय पूर्वाधार (पुल)मा समेत ठूलो क्षति पुगेको अर्का कांग्रेस सांसद केरुङले बताए । उनले भने, च्याङ्थापु–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल बगाएको, च्याङ्थापु–एकराते र नाम्रेक–फलैंचा जोड्ने झोलुङ्गे पुलहरू जिर्ण बनेको तथा मध्यपहाडी लोकमार्ग अन्तर्गत दोभानेस्थित निर्माणाधीन पक्की पुल बगायो ।’

वनपाला–एकराते सिँचाइ योजना पूर्ण रूपमा बगाएको र हिलिहाङस्थित निर्माणाधीन लिम्बुनी पुलमा समेत क्षति पुगेको र कृषि क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताए ।

सांसदहरूका अनुसार याङ्वरक–१ र २ का अधिकांश कृषकको खेतबारी तथा अलैंची बारीमा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *