गौशालामा डोजर आतंक रोक्न सांसद यादवको माग
काठमाडौं। नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले महोत्तरीको गौशाला नगरपालिका-५ का ३४ घरधुरीमाथि भइरहेको डोजर आतंक तत्काल रोक्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषय केवल ३४ घरधुरीको बसोबाससँग मात्र सम्बन्धित नभई संविधानले प्रत्याभूत गरेको गाँस, बास र कपासको अधिकार, मानवताको सम्मान, कानुनी शासन तथा लोकतान्त्रिक मूल्यमान्यतासँग जोडिएको बताएकी हुन् ।
उनले भनिन्, ‘गौशाला नगरपालिका-५ को बजार क्षेत्रमा २०२८ सालअघि स्थायी बजार नभएको र स्थानीय तहका तत्कालीन संरचनाले बजार व्यवस्थापन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउन कित्ता नम्बर ११५ को जग्गा स्थानीय बासिन्दालाई भोगचलनका लागि दिएको छ। त्यसयता निरन्तर रूपमा बहाल उठाइएको, कर संकलन गरिएको, पक्की घर निर्माण अनुमति दिइएको तथा नक्सा पास र मालपोत प्रयोजनका लागि सिफारिससमेत हुँदै आएको छ।’
उनका अनुसार गौशाला नगरपालिका-५ को बजार क्षेत्रमा २०२८ सालअघि स्थायी बजार संरचना नभएको अवस्थामा तत्कालीन स्थानीय निकायले बजार व्यवस्थापन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउन कित्ता नम्बर ११५ को जग्गा स्थानीय बासिन्दालाई भोगचलनका लागि उपलब्ध गराएको थियो ।
त्यसयता निरन्तर रूपमा बहाल उठाउने, कर संकलन गर्ने, पक्की घर निर्माण अनुमति दिने तथा नक्सा पास र मालपोत प्रयोजनका लागि सिफारिससमेत हुँदै आएको उनले बताइन् ।
सांसद यादवले सर्वोच्च अदालतको निर्णयविपरीत सूचना टाँस गर्ने, डोजर चलाउने चेतावनी दिने तथा स्थानीय परिवारलाई मानसिक तनाव दिने कार्य भइरहेको आरोप लगाइन् । उनले उक्त तनावका कारण ६२ वर्षीय विनोद साहको हृदयघातबाट मृत्यु भएको दाबीसमेत गरिन् ।
उनले सरकारबाट भइरहेको जबरजस्ती हटाउने कार्य तत्काल रोक्न, त्यहाँ बसोबास गरिरहेका ३४ घरधुरीको कानुनी, मानवीय तथा संवैधानिक अधिकारको संरक्षण गर्न तथा प्रभावित परिवारसँग संवादमार्फत समाधान खोज्न माग गरिन्।
