सात दिनभित्र हाजिर हुन पुनमलाई प्रहरीको निर्देशन
काठमाडौं । पुनम चन्द लाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन नेपाल प्रहरीले निर्देशन दिएको छ । साथै, गैरहाजिर रहनुको कारण स्पष्ट खुलाएर सन्तोषजनक स्पष्टीकरण पेस गर्न समेत प्रहरी प्रधान कार्यालयले आग्रह गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयले २०८३ जेठ ११ गते सूचना जारी गर्दै पुनम चन्दसहित गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई तोकिएको समयसीमाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट नदेखिएको र सम्बन्धित कर्मचारी सम्पर्कमा नआएको उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार पुनम चन्द २०८२ चैत १५ गतेदेखि कार्यालयमा अनुपस्थित रहँदै आएकी छन् । लामो समयदेखि सम्पर्कविहीन भएपछि खोजतलास गर्ने प्रक्रिया अघि बढाइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी सूचना टाँससमेत गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सूचना जारी गर्दै सम्बन्धित नियमअनुसार गैरहाजिर कर्मचारीलाई अन्तिम मौका दिइएको र सात दिनभित्र हाजिर नभए थप विभागीय कारबाही अघि बढाइने चेतावनी दिएको छ । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना जारी गरिएको उल्लेख छ ।
यसबीच, पुनम चन्द नेपाली महिला भलिबल टिम तथा नेपाल पुलिस क्लबकी खेलाडीसमेत हुन् । नेपाल भलिबल संघले आयोजना गरेको काभा महिला भलिबल च्याम्पियनसिपका लागि गरिएको बन्द प्रशिक्षणमा उनी प्रारम्भिक चरणमा समावेश भए पनि पछि टिमबाट बाहिरिएको बुझिएको छ । त्यसपछि उनी अस्ट्रेलिया गएको जानकारी समेत सम्बन्धित स्रोतहरूले दिएका छन् ।
हाल नेपाली महिला राष्ट्रिय टिम घरेलु मैदानमा काभा महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ । तर पुनम चन्द भने टोलीमा अनुपस्थित रहेकी छन्, जसले उनको अवस्थाबारे थप प्रश्न उठाएको छ ।
प्रहरीले स्पष्ट पारेअनुसार तोकिएको म्यादभित्र कार्यालयमा उपस्थित नभए गैरहाजिरीलाई निरन्तरता दिँदै नियमअनुसार विभागीय कारबाही अघि बढाइनेछ ।
