कांग्रेसको प्रश्न :प्रतिपक्षको अवरोधबीच विधेयक पास गरेर किन बहुमतको दम्भ देखाउनुभयो?
काठमाडौं । विपक्षी दलले प्रधानमन्त्री खोज्दै आज पनि सदनमा विरोध जनाएका छन्।
आकस्मिक, शून्य र विशेष समयपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोजेपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्।
विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई बोल्न दिए। उनले पछिल्लो समय सरकारको कार्यशैलीले गम्भीर प्रश्न उब्जाएको बताइन्।
उनले भनिन्, ‘संसद् केवल संख्याको खेल होइन, यो विचार–विमर्श,उत्तरदायित्व र सहमतिका आधारमा चल्ने सर्वोच्च लोकतान्त्रिक थलो पनि हो। तर दुर्भाग्यवश, सरकार बहुमतको दम्भमा संसद्को गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोधबीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनुभयो?’
प्रधानमन्त्री र सरकारका कारण संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनको भनाइ थियो।
उनले थपिन्, ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रतिपक्षको माग र जनचासोका विषयलाई बेवास्ता गर्दै सञ्चालन गर्नु संसदीय मर्यादाको अभ्यास होइन। आज यी सबै घटनाले लोकतन्त्रको आत्मामाथि नै प्रश्न उठिरहेको छ। बहुमत सरकार चलाउने आधार हुन सक्छ, तर लोकतन्त्र चलाउने आधार होइन।’
