‘सरकारले जीवन भत्काइदियो’
शान्तिनगर सुकुमवासी बस्तीबाट विस्थापित भएर बनेपाको होल्डङ सेन्टरमा बसिरहेका लालबहादुर लिम्बु भन्दै थिए, ‘२०५७ सालमा म काठमाडौं आए। राजधानीले धेरैलाई सपना देखाउँछ, तर सबैलाई ठाउँ दिँदैन। त्यही क्रममा म शान्तिनगरस्थित सुकुमवासी बस्ती पुगे। त्यहाँ बाँसको सानो टहरा ठडाए । पानी चुहिने, हावा छिर्ने, साँघुरो कोठा। त्यही कोठा मेरो संसार बन्यो।’
‘हामी सुकुमवासी हौं, तर मान्छे पनि हौं,’ लिम्बु भन्छन्।
गत वैशाख १२ गते बिहान शान्तिनगर सुकुमवासी बस्तीमा डोजर आयो । सरकारले चलाएको सुकुमवासी बस्ती हटाउने अभियानको चेपुवामा लिम्बुपनि परे। क्रमश: डोजरले उनको घर पनि भत्कायो।
उसो त त्यो दिन बस्तीभर रुवाबासी चल्यो । मानिसहरू हतार–हतार सामान बोकेर भागिरहेका थिए। कतै बच्चा रोइरहेका थिए, कतै वृद्धहरू चिच्याइरहेका थिए।
काठमाडौंको शान्तिनगर सुकुमवासीबस्ती अहिले पहिले जस्तो छैन। केही समयअघिसम्म टिनका छाना, बाँसका टहरा, साँघुरा गल्ली र मानिसहरूको भीडले भरिएको त्यो ठाउँ अहिले खाली देखिन्छ। कतै भत्किएका बाँसका टुक्रा छन्, कतै च्यातिएका त्रिपाल, कतै पुराना कपडा र भाँडाकुँडा। त्यही बस्तीबाट विस्थापित भएका ६४ वर्षीय लिम्बू आफ्नो परिवार सहित बनेपास्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।
संघर्ष र अभावबाट जीवन उनेका लिम्बुको जीवन कुनै साधारण कथा होइन। पूर्व सुनसरी जिल्लाबाट उनी २०४७ सालतिर पोखरा पुगेका थिए। गाउँमा कामको अभाव हुँदा परिवार पाल्न कठिन हुँदै गएको गएको उनी बताउछन् ।
गाउँमा जीवन धान्न गारो भएपछी उनी पोखरा हानिए । त्यहाँ उनले करिब दश वर्ष बिताए। त्यो समय उनले कुलीको काम गरे। भारी बोक्ने, बजारमा सामान ओसार्ने, दिनभर पसिना बगाउने काम।
अहिले उनको चार जनाको परिवार छ। एकजना छोरा(सुशील लिम्बु), एकजना छोरी(नाइमा लिम्बु) र श्रीमान्/श्रीमती(सङ्गीता लिम्बु)।
सुशील अहिले १९ वर्षका भए । सुशील बानेश्वरको एउटा कलेजमा पढ्छन् र भर्खरै +२ परीक्षा दिएका छन्। तर उनी बाबुआमासँग बस्दैनन्।
सुकुमवासी बस्तीमा पढ्न उपयुक्त वातावरण नभएकाले उनी आफ्नी ठूलीआमासँग बसेर पढिरहेका छन्। परिवारको सपना छ, ‘सुशीलले राम्रो पढोस्, जीवन बदलोस्।’
लालबहादुरकी छोरी नाइमा अझै बोल्न सक्दिनन्, तर उनका आँखाले बुबाको माया, संघर्ष र विश्वास सबै व्यक्त गर्छन्।
२०७९ सालमा लालबहादुरले शान्तिनगरमा बसोबासका लागि आवश्यक कागजी प्रक्रिया पूरा गरे। अब सायद जीवन अलि सुरक्षित होला भन्ने लागेको थियो। तर १२ वैशाखमा उनको त्यो सपना तुहियो।
सुकुमवासी बस्ती खाली गर्न भनेर सरकारले तीन दिनको समयसिमा तोक्यो। तीन दिन पनि बित्न नपाउदै सरकार डोजर लगेर घर आँगनमा पुगेपछि अहिले सुकुमवासी बस्तीका करिब ‘हामीलाई कम्तीमा ३५ दिनको समय दिएको भए, आफैं सफा गरेर, अर्को ठाउँ खोजेर बिस्तारै सर्थ्यौं। तीन दिनमा कहाँ जाने ? कसरी जाने ? मेरी छोरी चार वर्षमा हिँड्न सिकेकी हो, उसलाई तीन दिनमा कहाँ लैजाने ?’ उनी भक्कानिँदै भन्छन्।
तर विडम्बना उनको प्रश्नको उत्तर अहिले कसैसँग छैन।
