असंसदीय तवरले सांसद सेन्दाङ निष्काशित,के भन्छ नियम ३० र ३१ ?
काठमाडौं। प्रतिनिधि सभा बैठकबाट कांग्रेस सांसद निकालिइन्। निकालिने कांग्रेस सांसद गीता सेन्दाङ हुन् ।
सभामुखको स्पष्ट आदेशबिना नै मर्यादापालकले सांसदमाथि हस्तक्षेप गरेको आरोप गरेको हो।
पहिलो बैठकका क्रममा सांसद सेन्दाङलाई तीन जना मर्यादापालकले घेरेर बाहिर लैजान खोजेका थिए।
जुन संसदीय मर्यादा र प्रक्रिया विपरीत रहेको छ।
संसदमा कांग्रेसले आपत्ति जनाएपछि यस विषयमा सभामुख डोलप्रसाद अर्यालले भने सांसद सेन्दाङको गतिविधि सभाको मर्यादाविपरीत देखिएको बताए ।
उनले बैठक सञ्चालन भइरहेका बेला सभामुखतर्फ लक्षित गरी फोटो वा भिडियो खिच्ने प्रयास भएको जानकारी आफूले पाएको बताए ।
सभामुख अर्यालका अनुसार उनले मोबाइलमा फोटो वा भिडियो खिचिएको छ कि छैन भन्ने विषयमा चेकजाँच गर्न निर्देशन दिएका थिए। सांसदलाई बाहिर निकाल्न आदेश नदिएको स्पष्ट पारे ।
उनले भने, ‘उहाँले मोबाइलबाट फोटो वा भिडियो खिच्नुभएको छ कि छैन भनेर चेकजाँच गर्न निर्देशन दिएको हो । बाहिर निकालिएको होइन । विषयलाई तोडमोड गरेर प्रस्तुत नगरियोस् ।’
यस्तै,सांसद सेन्दाङले बैठकमा उनले फोटो खिचेको भन्दै बाहिर लगेको र मर्यादापालकले फोटो डिलिट गर्न लगाएको बताएकी छन् ।
उनले आफूलाई बैठकमा फोटो र भिडियो खिच्न हुँदैन भन्ने थाहा नभएको बताएकी छन् । तर, सांसदलाई मर्यादा सिकाउने काम संसद् बैठकमा खटिने मर्यादापालकको होइन, सभामुखकाे हो । यस्ताेमा सभामुखले सुरुमा सचेत गराउन सक्छन् ।
त्यस्तै,यस्तो अवस्थामा सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम ३० चेतावनी दिन सक्छन्। चेतावनी दिँदा पनि नमाने बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ३० र ३१ मा यस सम्बन्धी प्रावधान छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ३० र ३१ मा के छ ?
३०.चेतावनीः
बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ।
३१. बैठक कक्षबाट निष्काशनः
(१) नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर जानु पर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन ।
(२) उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।
