‘जेप क्वालालम्पुर’ कन्सर्ट : नेपथ्य पहिलो पटक मलेसिया जाँदै
काठमाडौं। लोकरक ब्यान्ड ‘नेपथ्य’ अब वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशिएका नेपाली दर्शकलाई लक्षित गर्दै मलेसियामा पहिलो पटक सांगीतिक प्रस्तुति दिने भएको छ।
लामो समयदेखि विभिन्न देशमा रहेका नेपाली समुदायमाझ निरन्तर कन्सर्ट गर्दै आएको यो ब्यान्डले यस पटक मलेसियाको राजधानी क्वालालम्पुरमा कार्यक्रम गर्ने तयारी गरेको हो।
क्यानडा र त्यसपछि न्युजिल्यान्डको सफल भ्रमण सकेर गत साता स्वदेश फर्किएको नेपथ्य समूहले आगामी जुन १ अर्थात जेठ १८ गते क्वालालम्पुरस्थित ‘जेप क्वालालम्पुर’ मा कन्सर्ट प्रस्तुत गर्नेछ। आयोजकका अनुसार उक्त कार्यक्रममा नेपाली दर्शकले लोकधुनमा आधारित रक गीतहरूको प्रत्यक्ष आनन्द लिन पाउनेछन्।
जापानको ‘जेप नेटवर्क’ अन्तर्गत चार वर्षअघि स्थापना गरिएको यो अन्तर्राष्ट्रिय रंगमञ्च क्वालालम्पुरको प्रमुख पर्यटकीय क्षेत्र बुकित बिन्ताङमा अवस्थित छ। नेपथ्यको यो प्रस्तुति मलेसियामा पहिलो भए पनि समूहका लागि अन्तर्राष्ट्रिय यात्रामा २० औं देश र क्वालालम्पुर ५८ औं अन्तर्राष्ट्रिय सहर हुने बताइएको छ।
स्थापनाको साढे तीन दशक लामो यात्रामा वैदेशिक रोजगारीका गन्तव्यहरू नै ब्यान्डका लागि प्रारम्भिक आधार बनेको मानिन्छ। ब्यान्डको जीवनीमा पनि सन् ९० को दशकताका जापान र हङकङका अनुभवलाई विशेष रूपमा उल्लेख गरिएको छ।
त्यसैगरी, पछिल्ला प्रस्तुति कार्यक्रममा समावेश हुँदै आएको ‘मै मरिजाउँला, जीवन छोटो छ’ बोलको गीतको म्युजिक भिडियोमा पनि विदेशमा श्रम गरेर परिवारको भविष्य बनाउने युवाको कथा प्रस्तुत गरिएको छ।
ब्यान्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले मलेसियामा रहेका नेपाली दर्शकसँग प्रत्यक्ष भेट हुने अवसरलाई लिएर खुशी व्यक्त गरेका छन्।
उनका अनुसार, ‘मलेसियाबाट धेरै समयदेखि सामाजिक सञ्जालमार्फत संवाद गरिरहनुभएका दर्शकसँग प्रत्यक्ष भेट हुने अवसर मिल्नु निकै खुशीको कुरा हो। रेमिट्यान्समार्फत देशको अर्थतन्त्रलाई योगदान दिइरहेका नेपाली युवासँग संगीतमार्फत जोडिन हामी उत्साहित छौं।’
आयोजक संस्था ‘आर्बिटरी इभेन्ट्स’ ले कार्यक्रमलाई लिएर मलेसियामा रहेका नेपाली समुदायबीच ठूलो उत्साह देखिएको जनाएको छ।
संस्थाका प्रतिनिधि विपिन नकर्मीका अनुसार, ‘विभिन्न जमघटमा कन्सर्टबारे चर्चा भइरहेको छ, फोनमार्फत जानकारी लिनेहरू पनि बढिरहेका छन्। दर्शकको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाइरहेका छौं।’
आयोजकले अनलाइन टिकटसँगै दर्शकको सुविधाका लागि घरमै टिकट डेलिभरीको व्यवस्था पनि मिलाइएको जनाएको छ। यसले श्रमिक तथा व्यस्त दर्शकलाई सहज हुने अपेक्षा गरिएको छ।
नेपथ्यको व्यवस्थापन पक्षका अनुसार विदेशका हरेक कन्सर्टलाई समान स्तरको बनाउन कलाकार, प्राविधिक र व्यवस्थापन टोलीसहितको सम्पूर्ण तयारी गरिएको छ। ब्यान्डका व्यवस्थापक किरणकृष्ण श्रेष्ठका अनुसार, ‘दर्शकलाई केवल संगीत मात्र होइन, नेपाली समुदायको साझा अनुभव पनि दिने प्रयास गरिएको छ।’
कन्सर्टमा मुख्य गायक अमृत गुरुङसँगै ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
टिकट बिक्री अनलाइनमार्फत र फोन बुकिङ प्रणालीमार्फत उपलब्ध गराइएको छ।
