`

गुणस्तरहीन ‘तेज’ तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको आदेश

Nepal One HD १४ जेठ २०८३ ०:३७
अर्थ समाचार

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको भेटिएपछि उक्त उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा नेपाल सरकारले तोकेको गुणस्तर मापदण्डअनुसार नभएको निष्कर्ष निकालेको हो । सोही आधारमा उक्त तेलको बिक्री-वितरण रोक्न र बजारबाट फिर्ता (रिकल) गर्न आदेश जारी गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार आयातित तोरी गेडाबाट उत्पादन गरिएको उक्त तेल ब्याच नम्बर २० अन्तर्गत रहेको छ । उत्पादन मिति २०८२ फागुन २८ उल्लेख गरिएको सो उत्पादनको उपभोग्य अवधि ६ महिना तोकिएको छ ।

परीक्षणका क्रममा विभिन्न सूचक (प्यारामिटर) मापदण्डअनुसार नपाइएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सम्बन्धित उत्पादकलाई कारबाहीसहित बजार फिर्ताको आदेश दिइएको विभागले स्पष्ट पारेको छ ।

उक्त ‘तेज’ ब्रान्डको तोरी तेल रुपन्देहीस्थित सिद्धार्थ आयल इन्डष्ट्रिजले उत्पादन गरेको विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *