बालबालिकालाई खाली पेटमा लिची खुवाउदै त हुनुहुन्न ? सावधान!
काठमाडौं। गर्मी मौसम सुरु भएसँगै बजारमा रसिलो, मीठो र आकर्षक फल लिचीको उपलब्धता बढेको छ। रातो रङको आकर्षक बाहिरी भाग, मीठो रस र सजिलै खान मिल्ने गुणका कारण लिची धेरैको प्रिय फल मानिन्छ।
नेपालका तराईदेखि पहाडी क्षेत्रसम्म यो फल विशेषगरी गर्मी याममा अत्यधिक रूपमा खपत हुने गर्छ। तर यही लोकप्रिय फल साना बालबालिकाका लागि भने कहिलेकाहीँ गम्भीर स्वास्थ्य जोखिमको कारण बन्न सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।
चिकित्सकहरूका अनुसार लिची आफैंमा पौष्टिक फल भए पनि गलत समयमा, विशेषगरी खाली पेटमा सेवन गर्दा बालबालिकामा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ।
चिकित्सा भाषामा यस अवस्थालाई ‘रिफ्र्याक्टरी हाइपोग्लाइसेमियासहित तीव्र एन्सेफ्यालोप्याथी’ भनिन्छ। जसलाई सामान्य रूपमा लिची विषाक्तता (लिची टक्सिसिटी) भनेर बुझिन्छ। यो समस्या विशेषगरी साना बालबालिकामा बढी देखिने गरेको बताइन्छ।
लिचीमा प्राकृतिक रूपमा हाइपोग्लिसिन नामक विषाक्त तत्व पाइन्छ। जसले शरीरमा रगतमा रहेको चिनी (ग्लुकोज) को मात्रा तीव्र रूपमा घटाइदिन्छ। जब बच्चाहरू लामो समय खाली पेट रहन्छन् वा बिहान नास्ता नगरी लिची सेवन गर्छन्। तब शरीरमा ऊर्जा उत्पादन अचानक घट्ने र रक्तचिनी खतरनाक रूपमा कम हुने अवस्था सिर्जना हुन सक्छ।
बालबालिकाको शरीर अझै पूर्ण रूपमा विकसित नभइसकेको र कलेजो तथा प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसको असर छिटो र गम्भीर रूपमा देखिने चिकित्सकहरूको भनाइ छ।
विशेषगरी कुपोषण भएका बालबालिका, नियमित रूपमा खाना नखाने बानी भएका, लामो समय भोकै बस्ने अवस्था भएका वा एकैपटक धेरै लिची सेवन गर्ने बालबालिकामा यो जोखिम अझ बढी हुने बताइएको छ।
यस्तो अवस्थामा शरीरमा ग्लुकोजको मात्रा अत्यधिक घट्ने भएकाले मस्तिष्कमा असर पुग्छ र गम्भीर अवस्था उत्पन्न हुन सक्छ।
लिची विषाक्तता भएमा सुरुमा खाना खान मन नलाग्ने, वाकवाकी लाग्ने, अत्यधिक कमजोरी महसुस हुने, चक्कर आउने, शरीर चिसो पसिनाले भिज्ने जस्ता लक्षण देखिन सक्छन्।
अवस्था जटिल बन्दै जाँदा शरीर झट्किने, छारे रोग जस्तो काम्ने, चेतना गुम्ने वा बेहोस हुनेजस्ता गम्भीर लक्षण पनि देखिन सक्छन्। केही अवस्थामा प्रारम्भिक लक्षण हराएजस्तो देखिए पनि भित्री रूपमा मस्तिष्क र शरीरमा गम्भीर असर भइरहेको हुन सक्ने भएकाले यसलाई हल्का रूपमा लिनु खतरनाक मानिन्छ।
चिकित्सकहरूका अनुसार यस्तो समस्या देखिएमा ढिलाइ नगरी तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु अत्यावश्यक हुन्छ। समयमै उपचार पाएमा धेरै अवस्थामा ज्यान जोगाउन सकिने भए पनि ढिला भए अवस्था अत्यन्त जटिल बन्न सक्छ।
बिरामीलाई अस्पताल लैजाँदा सम्भव भएमा सेवन गरिएको लिचीको नमूना वा जानकारी पनि साथमा लैजान सुझाव दिइन्छ, जसले उपचारमा सहयोग पुर्याउँछ।
सावधानीका रूपमा विशेषज्ञहरूले बालबालिकालाई लिची सधैँ खाना खाइसकेपछि मात्र दिनुपर्ने सुझाव दिएका छन्। बिहान खाली पेट वा लामो समय भोकै रहेको अवस्थामा लिची कहिल्यै नखुवाउन, एकपटकमा धेरै मात्रामा नदिन, र नियमित तथा सन्तुलित खानपानमा ध्यान दिन अभिभावकहरूलाई आग्रह गरिएको छ।
साथै बालबालिकामा लिचीलाई नियमित नास्ता वा मुख्य आहारको विकल्पका रूपमा प्रयोग नगर्न पनि चेतावनी दिइएको छ।
लिची स्वादिलो, पौष्टिक र गर्मीमा शरीरलाई ताजगी दिने फल भए पनि यसको गलत प्रयोगले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने भएकाले विशेषगरी अभिभावकहरू सचेत रहनुपर्ने चिकित्सकहरूले जोड दिएका छन्।
