‘बझाङको बाघ’ रविन्द्र ‘रोड टु यूएफसी’को सेमिफाइनलमा
काठमाडौं। नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) का उदाउँदा खेलाडी रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
चीनको मकाउमा जारी प्रतियोगिताअन्तर्गत भएको क्वाटरफाइनल भिडन्तमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले उक्त खेल दोस्रो राउण्डमै निर्णायक जित हासिल गर्दै समाप्त गरेका थिए। उनको यो जितसँगै उनी ‘रोड टु यूएफसी’ जित्ने पहिलो नेपाली खेलाडीका रूपमा समेत स्थापित भएका छन्।
‘रोड टु यूएफसी’ प्रतियोगिता एसिया-प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसी (अल्टिमेट फाइटिङ च्याम्पियनसिप) सम्म पुग्ने अवसर प्रदान गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा लिइन्छ।
हालसम्म घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै आएका ढाँटले नेपाली एमएमए खेललाई अन्तर्राष्ट्रिय स्तरमा अझ माथि पुर्याउने अपेक्षा गरिएको छ।
जितपछि उनले विश्वभर रहेका नेपाली समर्थकप्रति आभार व्यक्त गर्दै आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन जारी राख्ने प्रतिबद्धता जनाएका छन्। खेलपछि प्रतियोगिता स्थलमा समर्थकहरूले ‘जय नेपाल’को नारासहित उत्साह व्यक्त गरेका थिए।
ढाँटले पनि आफ्नो जितपछि ‘जय नेपाल’ र ‘जय हनुमान’ भन्दै खुसी साटेका थिए।
