`

नीर शाहलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०८२’ प्रदान गरिने

Nepal One HD १५ जेठ २०८३ १२:०८
मनोरञ्जन

काठमाडौं। प्रतिष्ठित गीतकार तथा अभिनेता नीर शाहलाई गीतकार संघ नेपालले ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ प्रदान गर्ने भएको छ। संघको स्थापना दिवसको अवसरमा बसेको कार्यसमिति बैठकले शाहलाई उक्त सम्मान दिने निर्णय गरेको हो।

शाहलाई १ लाख ५१ हजार रुपैयाँ नगदसहित ताम्रपत्र प्रदान गरिने गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले जानकारी दिएका छन्।

त्यस्तै, ‘डायस्पोरा गीतकार सम्मान-२०८२’ गीतकार नीलम आङबुहाङ राईलाई प्रदान गरिने भएको छ। उनलाई १५ हजार रुपैयाँ नगदसहित ताम्रपत्र प्रदान गरिने संघले जनाएको छ।

यसैगरी, ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान-२०८२’ अन्तर्गत लोहारुङ राई भाषाका स्रष्टा नाइन्द्र लोहारुङलाई २५ हजार २५२ रुपैयाँसहित सम्मान गरिने भएको छ।

‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान-२०८२’ गीतकार अरुण तिवारी र सुशिला पौडेललाई संयुक्त रूपमा प्रदान गरिनेछ। दुवैलाई जनही १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने जनाइएको छ।

यस वर्षदेखि सुरु गरिएको ‘गीतकार संघ नेपाल पत्रकारिता सम्मान’ हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाललाई ५ हजार ५५५ रुपैयाँसहित प्रदान गरिने भएको छ।

त्यसैगरी, ‘भैरवनाथ रिमाल ‘कदम’ वर्ष गीत पुरस्कार-२०८२’ का लागि प्राप्त गीतहरूबाट उत्कृष्ट १० गीत छनोट गरिएको छ। तीमध्ये एक उत्कृष्ट गीतलाई ५७ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिने संघले जनाएको छ।

छनोटमा परेका गीतहरूमा डम्बर याक्सोको ‘म त तिम्रो नजरमा’, प्रबल विष्टको ‘भुल्न सकिनँ’, लेखराज गिरीको ‘एउटै बाटो’, राम भट्टराईको ‘जिन्दगीको सुख खोज्दै’, गौरव गुरुङको ‘तिम्रो सम्झनामा’, हरिराम पौडेलको ‘आफ्नै प्रितिको गीत’, रविन्द्र आशिष शैलीको ‘छैन जून आज’, अमरदीप सुनुवारको ‘मायाजाल मोहनी’, डा. विष्णुमूर्ति भट्टराईको ‘मेरो नाम लिने ओठले’ र डा. रुद्रनाथ अधिकारीको ‘आउन माया आउ’ रहेका छन्।

त्यस्तै, ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार-२०८२’ का लागि तीन वटा पुस्तक छनोट भएका छन्। छनोटमा कल्पना खरेलको ‘नन्दनी’, ध्रुव खनालको ‘मनको आँखा’ र डा. ज्ञानेन्द्र गदालको ‘भोलिको आश उज्यालो प्रकाश’ रहेका छन्। छनोट भएका मध्ये एक पुस्तकलाई ५७ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिने संघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *