`

काभा महिला भलिबल: नेपाल बाहिरियो, फाइनलमा इरान र काजाकस्तान भिड्दै

Nepal One HD १५ जेठ २०८३ १२:३१
खेलकुद

काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल राष्ट्रिय महिला भलिबल टोली सेमिफाइनलबाट बाहिरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार भएको खेलमा आयोजक नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

यो जितसँगै इरान फाइनलमा प्रवेश गरेको छ भने उपाधिका लागि अब इरान र काजाकस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। काजाकस्तानले अर्को सेमिफाइनलमा भारतलाई सोझो सेटमै पराजित गर्दै फाइनल स्थान सुरक्षित गरेको हो।

खचाखच दर्शकले भरिएको कभर्ड हलमा घरेलु टोली नेपालले सुरुआती समयमा राम्रो चुनौती दिए पनि इरानको बलियो प्रदर्शन अगाडि टिक्न सकेन।

पहिलो सेटमा १४–१४ को बराबरीसम्म नेपालले प्रतिस्पर्धा गरेको थियो। तर त्यसपछि इरानले खेलमा पकड बनाउँदै पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो।

दोस्रो सेटमा पनि इरानले निरन्तर दबाब कायम राख्दै २५–१५ ले जित निकाल्यो। तेस्रो सेटमा नेपालले लय समात्न नसक्दा २५–११ ले पराजित हुँदै सोझो सेटमै खेल गुमायो।

यो हारसँगै नेपालले इरानसँग दोस्रो पटक पराजय बेहोरेको हो। यसअघि २०२४ को काभा महिला च्यालेन्जमा नेपाल इरानसँग ३–२ सेटले पराजित भएको थियो। तर सोही प्रतियोगितामा नेपालले इरानलाई पराजित गर्दै फाइनलसम्म पुगेको स्मरणीय प्रदर्शन पनि गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *