मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रारम्भिक प्रतिवेदनलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।
पार्टीको स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंको चाबहिलस्थित पार्टी कार्यालयमा आयोजित झण्डोतोलन कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले आयोगको प्रतिवेदनले महत्वपूर्ण तथ्यहरू उजागर गरेको भन्दै त्यसलाई कार्यान्वयनतर्फ लैजान सरकार सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे।
उनले हालको सरकार जनमतका आधारमा गठन भएको उल्लेख गर्दै जनताको अपेक्षा र विश्वासअनुसार काम गर्नुपर्नेमा जोड दिए।
सरकारप्रति जनआशा कमजोर हुने खालका निर्णय र गतिविधिबाट टाढा रहनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष लिङ्देनले विगतमा एकल बहुमतको सरकार लामो समयसम्म नचलेको उदाहरण दिँदै अहिलेको ठूलो दलले विगतका कमजोरी दोहोर्याउने अवस्था आउन नहुने बताए।
उनले सरकारलाई जिम्मेवार, सतर्क र परिणाममुखी ढंगले अघि बढ्न सुझाव दिए।
उनका अनुसार जनताको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता छ। उनले वर्तमान राजनीतिक परिस्थितिलाई अवसरका रूपमा प्रयोग गर्दै देशको हितमा ठोस काम गर्न सरकारलाई शुभकामना पनि दिए।
लिङ्देनले गणतन्त्र स्थापनापछि करिब दुई दशकको अवधिमा देशले के प्राप्त गर्यो र के गुमायो भन्ने गम्भीर समीक्षा आवश्यक भएको बताए।
उनका अनुसार यो अवधिमा अर्थतन्त्र अपेक्षित रूपमा बलियो बन्न नसकेको र सुशासनको अवस्था पनि सन्तोषजनक नदेखिएकाले नयाँ राष्ट्रिय समझदारी आवश्यक भएको धारणा उनले राखे।
