`

को पुग्ला फाइनलमा ?

Nepal One HD १५ जेठ २०८३ १४:३५
खेलकुद

काठमाडौं।  आईपीएल २०२६ को क्वालिफायर-२ अन्तर्गतको खेल आज हुँदैछ।  नेपाली समयअनुसार गुजरात टाइटन्स र राजस्थान रोयल्सबीचको खेल राति ७ बजेर ४५ मिनेटबाट न्यु चण्डीगढस्थित मुल्लांपुर स्टेडियममा सुरु हुनेछ । यो खेलको विजेता टोलीले फाइनलमा आरसीबीसँग प्रतिस्पर्धा गर्नेछ ।

शुभमन गिलको कप्तानीमा रहेको गुजरात टाइटन्सले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो । तर क्वालिफायर-१ मा रोयल च्यालेन्जर्स बैंगलोरसँग ९२ रनको भारी हार बेहोरेपछि टोली दबाबमा देखिएको छ ।

आज गुजरात आफ्नो गल्ती सुधार्दै फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिनेछ । टोलीसँग जोस बटलर, राशिद खान, मोहम्मद सिराज र कागिसो रबाडाजस्ता अनुभवी तथा खतरनाक खेलाडी छन्, जसले एक्लै खेलको परिणाम बदल्न सक्छन् ।

अर्कोतिर राजस्थान रोयल्स लगातार तीन खेल जित्दै उच्च मनोबलमा छ । युवा कप्तान रियान परागको नेतृत्वमा राजस्थानले एलिमिनेटरमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराएको थियो ।

१५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीको आक्रामक ब्याटिङ र जोफ्रा आर्चरको घातक बलिङका कारण टोली निकै सन्तुलित देखिएको छ । राजस्थान आज पनि आफ्नो जितको लय कायम राख्दै फाइनलमा पुग्ने प्रयासमा हुनेछ ।

मुल्लांपुरको पिच आईपीएल २०२६ मा ब्याटरहरूका निकै सहज देखिएको छ । यो पिचमा पछिल्ला पाँच खेलमा पहिलो इनिङ्सको औसत स्कोर करिब २२० रन रहेको छ । अघिल्लो खेलमा राजस्थानले यही मैदानमा हैदराबादविरुद्ध २४३ रन बनाएको थियो ।

यहाँ सुरुआती ओभरमा राम्रो पेस र बाउन्स पाइने भएकाले स्ट्रोक खेल्न सहज हुन्छ । नकटआउट खेल भएकाले टस जित्ने कप्तानले पहिले ब्याटिङ रोजेर ठूलो स्कोर खडा गर्न चाहने सम्भावना बढी छ ।

आईपीएल इतिहासमा गुजरात टाइटन्स राजस्थानमाथि हाबी देखिएको छ । दुवै टोलीबीच हालसम्म १० खेल हुँदा गुजरातले ७ खेल जितेको छ भने राजस्थानले ३ खेलमा मात्र सफलता पाएको छ । तर यस सिजनमा दुवैले एक अर्कालाई एक एक खेलमा हराएका कारण आजको खेललाई बराबरी प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *