`

चिकित्सक सङ्घको मेडिकल सम्मेलन चितवनमा सुरु

Nepal One HD १६ जेठ २०८३ १३:४२
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेपाल चिकित्सक सङ्घको आयोजनामा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स (एनएमए कन २०२६)’ चितवनमा सुरु भएको छ। सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको हो र आइतबारसम्म सञ्चालन हुनेछ।

सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल, भारत र चीनका विशेषज्ञ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ। साथै विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि, स्वास्थ्य मन्त्रालय तथा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका छन्।

सम्मेलनमा अहिले प्यानल छलफलहरू सञ्चालन भइरहेका छन्। तीन वटा सभाकक्षमा छुट्टाछुट्टै विषयमा छलफल भइरहेको आयोजकले जनाएको छ। कार्यपत्र प्रस्तुतिकरण र अनुसन्धानसम्बन्धी कार्यप्रगति प्रस्तुतिहरू पनि समानान्तर रूपमा जारी छन्। सम्मेलनमा ४० वटा कार्यपत्र र ३० वटा अनुसन्धानात्मक कार्यप्रगति प्रस्तुत गरिनेछ।

कार्यक्रममा देशभरबाट करिब ३५० जना सहभागी छन्। सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल स्वास्थ्य प्रणाली, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापनजस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको छ।

आइतबार बिहान औपचारिक उद्घाटन कार्यक्रम हुने आयोजकले जनाएको छ। यसअघि दुई–दुई वर्षमा हुने यो सम्मेलन पछिल्ला वर्षहरूमा तीन–तीन वर्षमा आयोजना गर्न थालिएको हो।

यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ रहेको छ। सम्मेलनमा नेपालको स्वास्थ्य प्रणालीमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौती समाधानका लागि नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल भइरहेको छ।

संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई व्यवहारमा कसरी सुदृढ बनाउने तथा विश्वका नयाँ चिकित्सा प्रविधि र आविष्कारलाई नेपालको स्वास्थ्य प्रणालीसँग कसरी जोड्ने भन्ने विषयमा वैज्ञानिक सत्रहरू केन्द्रित छन्।

कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटालगायत सरकारी अधिकारीहरूको पनि सहभागिता रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *