`

काठमाडौँ महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

Nepal One HD १६ जेठ २०८३ २१:४०
समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका एक सय २५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराइएको छ ।

सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई वडा नं ११ कार्यालयले तीर्थयात्रा गराउन पलाञ्चोक लगेको थियो । गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरू देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरका व्यक्तिसँग सामूहिक खाना र खाजा खाँदा उहाँहरूको अनुहारमा खुसीको आभास थियो ।

तीर्थयात्रामा सहभागी ८० वर्षीया रत्नेश्वरी श्रेष्ठ गोर्खालीले धेरैपछि यसरी घुम्न पाएकामा आनन्द अनुभूति भएको प्रतिक्रिया दिनुभयो । ७० वर्षीया इन्द्रलक्ष्मी महर्जनले वडाबाट यस्तै कार्यक्रम भइरहेमा मनका पीडा बिर्सिन सजिलो हुने धारणा राख्नुभयो ।
यस्तै, ७१ वर्षीया मीरा डङ्गोल महर्जनले र ७५ वर्षीया हिरामाया महर्जनले अनुभव सुनाउँदै भन्नुभयो, “मान्छेलाई सन्तोषसँग बाँच्न धनले मात्र हुँदो रहेनछ । समाज र आफूजस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ ।”

अर्का ज्येष्ठ नागरिक ७४ वर्षीय गोपाल श्रेष्ठले तीर्थाटन अनुभव सुनाउँदै भन्नुभयो, “सहरको जीवन एक्लै जस्तै हुने, आज आफ्नै उमेर समूहका अन्य साथीलाई भेट्दा खुब रमाइलो भयो । पुराना मित्र भेट्न पाइयो । मनै हलुका जस्तै भयो । पीडा कम भयो ।”

उहाँले महानगरले यस्तो कार्यक्रम नियमित आयोजना र अन्य समयमा औषधि, उपचारलगायत काममा पनि सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

महानगर भवन व्यवस्था समितिका संयोजक एवं वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, “हाल घरमा ज्येष्ठ नागरिकले एक्लो जीवन बाँच्नुपर्ने अवस्था छ । रुचि र अरुचिका कुरा सोध्ने पनि छैनन् । कतै घुम्न मन लाग्यो भने एक्लै जान सकिँदैन । त्यसैले तीर्थयात्रामा लिने कार्यक्रम गरेका हौँ ।”

वडामा आठ सय ५० भन्दा बढीले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्राप्त गरिरहनुभएको छ । यस वर्ष एक सय ५१ जनालाई पोषण भत्ताबापत हरेकलाई रु १२ हजार प्रदान गरिएको छ ।

यो सङ्ख्या गएको वर्ष एक सय ८१ थियो । वडामा पोषणभत्ता प्राप्त गर्ने नौ जना पूर्ण अपाङ्गता, १५ जना अति अशक्त र प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका सात जना व्यक्ति ज्येष्ठ नागरिक रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *