चीनसँग पराजित भयो नेपाल
काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसियन गेम्स छनोट प्रतियोगितामा चीनसँग पराजित हुँदै आगामी एसियन गेम्समा स्थान बनाउन असफल भएको छ।
वर्षाका कारण खेल ७ ओभरमा सीमित गरिएको थियो। पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर ५० रन बनाएको थियो। त्यसपछि डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार चीनले ४३ रनको लक्ष्य पाएको थियो।
रोमाञ्चक बनेको खेलमा चीनले अन्तिम ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै लक्ष्य पूरा गर्यो र जित आफ्नो पक्षमा पार्यो।
कमजोर प्रतिद्वन्द्वी मानिएको चीनविरुद्ध नेपाली ब्याटरहरूले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। नेपालले २६ रनको स्कोरमै पाँच महत्वपूर्ण विकेट गुमाएको थियो।
सम्झना खड्काले ५ रन, पूजा महतोले १ रन, सोनी पाख्रिनले ५ रन, रुबी पोद्दारले खाता खोल्न नसक्दा कप्तान इन्दु बर्माले ११ रनको योगदान दिएकी थिइन्।
माथिल्लो क्रमका ब्याटरहरू असफल भइरहेका बेला छैटौं नम्बरमा क्रिजमा आएकी कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै १० बलमा २२ रन बनाइन्। उनको इनिङ्सले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याउन मद्दत गरेको थियो। तर त्यो प्रयास टोलीलाई जित दिलाउन पर्याप्त भएन।
