`

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

Nepal One HD १७ जेठ २०८३ १३:२५
प्रमुख खबर

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरी बलका एक जवानसहित दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत जवान ओमप्रकाश पुनमगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापामगर रहेका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार दुवै जना शुक्रबार (जेठ १५) देखि सम्पर्कविहीन भएका हुन् । उनीहरू नातामा मामाभान्जा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले बताए ।

प्रहरीका अनुसार उनीहरू अन्तिम पटक महाकाली नदी आसपासको क्षेत्रमा देखिएको अनुमान गरिएको छ । घटनास्थल नजिकै उनीहरूले प्रयोग गरेको ट्युब फेला परेपछि नदीमा बगेर बेपत्ता भएको हुन सक्ने आशंकासहित खोजी कार्य तीव्र पारिएको छ ।

स्थानीयवासी, सुरक्षाकर्मी र उद्धार टोलीको सहयोगमा नदी किनार र आसपासका क्षेत्रमा निरन्तर खोजी भइरहेको प्रहरीले जनाएको छ । यद्यपि अहिलेसम्म उनीहरूको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त भएको छैन ।

महाकाली नदीको बहाव र भौगोलिक अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको सुरक्षा निकायले जनाएको छ ।

थप विवरण संकलन भइरहेको र खोजी कार्य जारी रहने प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *