`

प्रधानमन्त्री बालेनको राजीनामा माग

Nepal One HD १७ जेठ २०८३ १८:५०
बिशेष

काठमाडौं । नेकपाका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल राजीनामा मागेका छन् ।

प्रधानमन्त्री शाहले संसदमा आइतबार देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि आँच आउने खालको अभिव्यक्ति दिएको भन्दै नेता रावलले बालेनको पदमा बसिरहने नैतिक अधिकार समाप्त भएको दाबी गरे ।

वक्तव्य जारी गर्दै नेता रावलले प्रधानमन्त्रीको उक्त कदमप्रति तीव्र आक्रोश व्यक्त गरे । ‘प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ,’ भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे रावलले यस्तो अभिव्यक्तिलाई अत्यन्तै आपत्तिजनक भन्दै नेपालको भौगोलिक अखण्डताको रक्षा गर्नुपर्ने प्रमुख जिम्मेवारीमा रहेका प्रधानमन्त्रीले संसदमै देश विरुद्ध यस्तो ‘झुटा कुरा’ गरेको आरोप लगाए ।

प्रधानमन्त्री शाहको राजीनामा माग्ने क्रममा नेता रावलले आफ्नो वक्तव्यमा प्रष्ट शब्दमा भनेका छन्, ‘नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने भुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन।’

नेता रावलले संसदमै यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु प्रकारान्तरले नेपालको आफ्नै भूभाग अरू देशलाई सुम्पने प्रपञ्च भएको गम्भीर आरोप लगाए ।

प्रधानमन्त्री हुनु अघिसम्म देशको भूभागबारे आफूलाई जानकारी नै नभएको अर्थ लाग्ने गरी संसद् जस्तो गरिमामय ठाउँमा बोल्नु राष्ट्रकै अपमान भएको उनको तर्क छ ।

वक्तव्यमा भनिएको छ, ‘जो व्यक्ति संसदमा यस्तो अभिव्यक्ति दिएर प्रकारान्तरले आफ्नो भूभाग अरु देशलाई सुम्पने किसिमको अभिव्यक्ति संसदमा दिन्छ र प्रधानमन्त्री नहुँदा अघिसम्म आफूलाई आफ्नो देशको भूभागबारे जानकारी नभएको भन्ने अर्थमा बोल्छ त्यस्तो व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आसिन हुनु नेपाल र नेपाली जनताको ठूलो दुर्भाग्य ठहर्दैन त?’

प्रधानमन्त्रीको राजीनामाको मागसँगै रावलले नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको छ, त्यसको सत्यतथ्य विवरण तत्काल नेपाली जनतासामु सार्वजनिक गर्न समेत प्रधानमन्त्री शाहलाई चुनौती दिए।

स्वाधीन र स्वाभिमानी नेपाली जनताले यस विषयमा तत्काल प्रधानमन्त्रीसँग कडा जवाफ माग्नुपर्ने उनको भनाइ छ ।

यसैगरी, झन्डै दुईतिहाइ बहुमतका साथ सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, सांसद र सदस्यहरू यस विषयमा किन मौन छन् भन्दै रावलले प्रश्न उठाएका छन् ।

सरकारको नेतृत्वकर्ता दलको यस विषयमा के धारणा छ, त्यो पनि नेपाली जनताले तत्काल पाउनुपर्ने र जनताले त्यसको जवाफ खोज्नुपर्ने माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *