हुम्ला-बाजुरा सीमा विवाद छानबिन गर्न गृह मन्त्रालयको टोली पुग्यो हुम्ला
हुम्ला। हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा त्यसक्रममा भएको झडपबारे अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेलको नेतृत्वमा रहेको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको हो।
टोलीले विवाद भएको लाम्पाटा र च्याचौर क्षेत्रको स्थलगत अवलोकन गरेपछि सिमकोटमा विभिन्न पक्षसँग छलफल थालेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार टोलीले सीमा क्षेत्रका स्थानीय बासिन्दा, घटनामा संलग्न व्यक्तिहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवासँग भेटघाट गरी घटनाको वास्तविकता बुझ्नेछ।
हुम्ला र बाजुराका स्थानीयबीच गत जेठ २ देखि ४ गतेसम्म सीमा विवादलाई लिएर तनाव उत्पन्न भएको थियो। विवाद चर्किँदै जाँदा लाम्पाटा क्षेत्रमा दुई जिल्लाका स्थानीयबीच झडप भएको थियो। जसमा बाजुराका चार जना घाइते भएका थिए। घाइतेहरूको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि पठाइएको थियो।
विवादको मुख्य कारण सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर उक्त क्षेत्रमा प्रहरी चौकी निर्माणको काम अघि बढाउनु रहेको बताइएको छ। प्रहरी चौकी निर्माणको स्थानलाई लिएर दुवै जिल्लाका स्थानीयबीच विवाद उत्पन्न भएको थियो।
घटनापछि गृह मन्त्रालयले सीमा विवाद र झडपको वस्तुगत अध्ययन तथा समाधानका लागि छुट्टाछुट्टै दुई समिति गठन गरेको थियो। जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा प्राविधिक अध्ययन समिति तथा एसएसपी विमलराज पौडेलको संयोजकत्वमा जाँचबुझ समिति गठन गरिएको थियो।
समितिले स्थलगत अध्ययन, स्थानीयको भनाइ तथा उपलब्ध प्रमाणका आधारमा प्रतिवेदन तयार गरी सरकारलाई बुझाउनेछ।
सरकारको अपेक्षा अनुसार उक्त प्रतिवेदनले सीमा विवाद समाधान र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक आधार प्रदान गर्ने विश्वास गरिएको छ।
