`

प्रधानमन्त्रीले माफी माग्नुपर्ने

Nepal One HD १८ जेठ २०८३ १३:३३
राजनीति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमा अतिक्रमणसम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदमा विरोध जारी राख्ने भएका छन्।

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै विपक्षी दलहरूले उनलाई संसदमै उपस्थित भएर स्पष्टीकरण दिन र अभिव्यक्ति सच्याउन माग गरेका छन्।

यस विषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा सोमबार सिंहदरबारमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका नेताहरूको बैठक बसेको थियो।

बैठकपछि नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको सीमा अतिक्रमणसम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ ठहर गरिएको बताए।

‘प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसदमार्फत देशवासीसँग माफी माग्नुपर्ने मागसहित आज संसदमा अवरोध गर्ने निष्कर्षमा हामी पुगेका छौँ,’ दुलालले बताए।

बैठकमा सहभागी श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले पनि प्रधानमन्त्रीले त्रुटिपूर्ण अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउनुपर्ने धारणा राखे।

त्यस्तै, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले संसदमै उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टीकरण दिनुपर्ने माग आफ्नो पार्टीको रहेको बताइन्।

प्रधानमन्त्रीले आइतबार उक्त अभिव्यक्ति दिएलगत्तै कांग्रेस र नेकपाले सदनमै त्यसको पुष्टि गर्न वा पुष्टि गर्न नसके संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई मुख्य मुद्दा बनाउँदै आजको प्रतिनिधिसभा बैठकमा पनि कडा विरोध जनाउने तयारी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *