प्रधानमन्त्रीको भनाइ ‘भारतलाई उपहार’ भएको नेकपाको आरोप
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भनाइ ‘भारतलाई उपहार’ जस्तो भएको हो कि भन्ने संशय उत्पन्न भएको बताएका हुन्।
दुलालले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनु गम्भीर विषय भएको उल्लेख गरे। उनका अनुसार यस्तो अभिव्यक्तिले कूटनीतिक रूपमा गलत सन्देश जाने खतरा रहेको छ।
उनले भने, ‘यो भारतलाई दिएको उपहार त होइन भन्ने संशय पैदा भएको छ। देशका लागि आवश्यक परे जीवनको बलि दिनुपर्छ भने प्रधानमन्त्रीले गलत, भ्रामक अभिव्यक्ति गरेको स्वीकार गर्दै फिर्ता लिनुपर्छ।’
दुलालले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर सार्वजनिक रूपमा स्पष्टता नदिएसम्म संसदको कार्यवाही अघि बढाउन उपयुक्त नहुने धारणा पनि राखे।
