१५ मिनेटका लागि स्थगित संसद अझै चलेन
काठमाडौं। नेपाल-भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले कडा आपत्ति जनाउँदै बैठक अवरुद्ध गरे।
विपक्षी सांसदहरूले सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई उक्त अभिव्यक्तिबारे रुलिङ गर्नुपर्ने माग गर्दै सदन सञ्चालनमा अवरोध गरेका हुन्।
उनीहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउनुपर्ने र त्यसबारे संसदमा औपचारिक जवाफ दिनुपर्ने अडान राखेका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने दाबी गरेको विषयलाई गम्भीर भन्दै यसबारे प्रधानमन्त्रीलाई रोष्ट्रमबाट स्पष्टिकरण दिनुपर्ने माग गरे।
उनले सभामुखले तत्काल रुलिङ गर्नुपर्ने आवश्यकता रहेको बताए।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै आपत्ति जनाए। उनले नेपालले कसैको भूमि नमिचेको स्पष्ट पार्दै प्रधानमन्त्रीले आफ्ना भनाइका लागि माफी माग्नुपर्ने धारणा राखे।
महरले यस्ता संवेदनशील विषयमा बोल्दा अध्ययन र प्रमाण आवश्यक हुने भन्दै प्रधानमन्त्रीको भनाइले गलत सन्देश गएको टिप्पणी गरे। उनले सभामुखले रुलिङ नगरेसम्म संसदको कार्यवाही अघि बढ्न नदिने चेतावनी पनि दिए।
विपक्षी सांसदहरूले लगातार नाराबाजी र विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन्।
१५ मिनेटका लागि स्थगित गरिएको संसद अझै चल्न सकेको छैन।
