`

जिदानका छोरा लुका अल्जेरियाको विश्वकप टोलीमा

Nepal One HD १८ जेठ २०८३ १६:१२
खेलकुद

एजेन्सी। फ्रान्सेली फुटबलका महान खेलाडी जिनेदिन जिदान का छोरा लुका जिदान फिफा विश्वकप २०२६ का लागि घोषित अल्जेरियाको राष्ट्रिय टोलीमा परेका छन्।

फ्रान्सको यू–२० टोलीबाट खेलिसकेका २८ वर्षीय गोलरक्षक लुकाले आफ्नो पारिवारिक सम्बन्ध रहेको अल्जेरियाबाट अन्तर्राष्ट्रिय करिअर अघि बढाउने निर्णय गरेका हुन्। उनका हजुरबुबा–हजुरआमाको जन्म अल्जेरियामा भएको थियो।

लुका यसअघि अफ्रिका कप अफ नेसन्समा अल्जेरियाका पहिलो रोजाइका गोलरक्षक थिए। उनी गत अप्रिलमा ग्रनाडा सीएफ बाट खेल्ने क्रममा गम्भीर चोटग्रस्त बनेका थिए। चोटका कारण उनको बङ्गारा र चिउँडोमा क्षति पुगेको थियो।

उनका पिता जिनेदिन जिदान विश्व फुटबल इतिहासका सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छन्। उनले फिफा विश्वकप १९९८ को फाइनलमा दुई गोल गर्दै फ्रान्सलाई विश्वविजेता बनाएका थिए। त्यस्तै फिफा विश्वकप २००६ को फाइनलमा गोल गरे पनि रातो कार्ड पाएर मैदान छाडेका थिए।

अल्जेरियाका मुख्य प्रशिक्षक भ्लादिमिर पेटकोभिक ले घोषणा गरेको टोलीमा अनुभवी फरवार्ड रियाद महरेज पनि समावेश छन्। पूर्व म्यानचेस्टर सिटी स्टार महरेज हाल अल अहली बाट खेलिरहेका छन्।

यसैगरी, नबिल बेन्तालेब सात महिनापछि राष्ट्रिय टोलीमा फर्किएका छन्। पूर्व टोटेनहम हट्सपर मिडफिल्डर बेन्तालेब हाल लिल ओएससीमा आबद्ध छन्। उनले फिफा विश्वकप २०१४ मा अल्जेरियाको प्रतिनिधित्व गरेका थिए।

चोटका कारण पछिल्लो अफ्रिका कप अफ नेसन्स गुमाएका हुसेम अउआर ले पनि टोलीमा पुनरागमन गरेका छन्।

विश्वकप २०२६ मा अल्जेरिया समूह ‘जे’ मा परेको छ। उक्त समूहमा अल्जेरियाले साविक विश्वविजेता अर्जेन्टिना सहित अस्ट्रिया र जोर्डन सँग प्रतिस्पर्धा गर्नेछ।

कठिन समूहमा परे पनि अनुभवी र युवा खेलाडीको संयोजनले अल्जेरियाले यसपटक उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *