नेविसंघ अध्यक्षमा करूणा कटुवाल
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छन्।
कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको निर्णयअनुसार सभापति थापाले पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई जिम्मेवारी दिएका हुन्।
कांग्रेसका अनुसार कटुवाललाई निर्धारित समयभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश प्रदान गरिएको छ।
कटुवाल यसअघि नेविसंघकी केन्द्रीय सदस्य तथा कांग्रेस महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय थिइन्। उनी नेविसंघको इतिहासमा अध्यक्ष बन्ने पहिलो महिला पनि हुन्।
लामो समयदेखि नेविसंघ तदर्थ समितिको भरमा सञ्चालन हुँदै आएको थियो। यसअघि तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए।
निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न नसकेपछि कांग्रेसले पाँच भ्रातृ संस्थालाई स्वतः विघटन गरेको थियो। तीमध्ये नेपाल महिला संघ, तरुण दल र नेविसंघमा नयाँ नेतृत्व चयन भइसकेको छ।
