चौतर्फी विरोधपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । आफ्नै राष्ट्रघाती अभिव्यक्तिपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने भएको छ । प्रधानमन्त्री बालेनका प्रेस विज्ञ दीपा दाहालले भनेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा आज जेठ १९ गते मंगलबार मध्यान्ह १२ : ०० बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।’
प्रधानमन्त्री बालेनले आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक रुपमा झुल्किएर ‘…नेपालले पनि भारतको जम्मा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
आफ्ना सभापति रवि लामिछानेको भारत भ्रमणअघि यस्तो अभिव्यक्ति दिनुलाई कतिपयले भारतलाई खुसी पार्ने नियतले बालेनले त्यसो भनेका हुन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै लगातार प्रतिनिधि सभा बैठक र राष्ट्रिय सभा बैठक अवरुद्ध पारिरहेका छन् ।
ती दलहरूनिकट युवा तथा विद्यार्थी सडकमा प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री बालेनको सोमबार त पुत्ला दहनसमेत भयो।
नेपाल विद्यार्थी संघका ६ जना नेता पक्राउ परिसके । उता नवलपरासीको भारत सीमा क्षेत्रको भूमि सुस्तामा प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि भारतीय सीमा सुरक्षा बल एसएसबी टोलीले निर्माणाधीन तटबन्ध रोक्न निर्देशन दिएको छ ।
देशभित्र राजनीतिक गतिरोध चुलिँदै गएको सन्दर्भमा प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
