गुलशन र इशान किन पुगे बेल्जियम ?
काठमाडौँ । बेल्जियममा यसै साता सुरु हुने ‘२०२६ इयु टी–ट्वान्टी’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण खेल्न नेपाली राष्ट्रिय टोलीका खेलाडी गुलशन झा र इशान पाण्डे बेल्जियम प्रस्थान गरेका छन्। प्रतियोगिता आगामी शनिबारदेखि सुरु हुँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) को स्वीकृतिमा दुवै खेलाडी प्रतियोगितामा सहभागी हुन बेल्जियम गएका हुन्। नेपाल ‘ए’ टोलीबाट खेलिरहेका अनिल शाह र ललित नारायण राजवंशी पनि प्रतियोगिताका लागि बेल्जियम जाने तयारीमा रहेका छन्।
हाल अनिलको कप्तानीमा रहेको नेपाल ‘ए’ टोली भारतको उत्तराखण्डमा जारी उत्तराखण्ड गोल्डकप क्रिकेट प्रतियोगितामा सहभागी छ। टोलीले आज आफ्नो अन्तिम खेल खेल्दैछ।
सुरुआती दुई खेलमा पराजित हुँदै नेपाल ‘ए’ प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यसपछि अनिल र ललित पनि बेल्जियम जाने भएका हुन्। उनीहरू दुवै जेबी ब्रुग्स क्लबसँग आबद्ध छन्।
यसबीच, नेपाली राष्ट्रिय टोली सिंगापुरमा एसियन खेलकुद छनोट प्रतियोगिता खेलिरहेकाले अन्य राष्ट्रिय खेलाडीहरू भने तत्काल बेल्जियम जान नसक्ने भएका छन्। यद्यपि दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख र लोकेश बम पनि बेल्जियम लिग खेल्ने टोलीमा समावेश रहेका छन्।
