मन्त्रिपरिषद् बैठक: भूमि समस्या समाधान समितिमा नयाँ नियुक्ति
काठमाडौं। मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्थासम्बन्धी महत्वपूर्ण निर्णय गर्दै भूमि समस्या समाधान समितिमा रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको छ।
मंगलबार बसेको बैठकले समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला नियुक्त गरेको हो। त्यस्तै समितिको सदस्यमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको छ।
सरकारले भूमिसम्बन्धी दीर्घकालीन समस्या समाधान, भूमिहीन तथा सुकुम्बासी व्यवस्थापन, र भूमि प्रशासनलाई व्यवस्थित बनाउन गठन गरिएको समितिलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित नियुक्ति प्रक्रिया अघि बढाएको हो।
नयाँ नेतृत्वसँगै समितिले रोकिएका कार्यहरूलाई तीव्रता दिने र भूमि समस्या समाधानका लागि नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। भूमि व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सरकारले यस समितिलाई महत्वपूर्ण भूमिकामा राखेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका पदाधिकारीहरूले सम्बन्धित जिम्मेवारी सम्हाल्नेछन्। सरकारले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राख्दै विभिन्न चरणमा सुधारात्मक कदमहरू चाल्दै आएको छ।
यस निर्णयलाई भूमि प्रशासन सुधार र दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
