`

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा रोक

Nepal One HD १९ जेठ २०८३ १५:५६
जीवनशैली/स्वास्थ्य

काठमाडौं। सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकका स्थानीय तहलाई कडा निर्देशन दिइएको छ।

स्थानीय जनप्रतिनिधिसहित सोमबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको विद्यमान कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको हो।

समितिले सार्वजनिक स्थल वरपर १०० मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन पूर्ण रूपमा रोक्न तत्काल अनुगमन गर्न पनि आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयलगायत सार्वजनिक स्थल वरिपरि सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ।

उनले सो व्यवस्था कार्यान्वयनका लागि स्थानीय तहलाई औपचारिक पत्राचार गरिएको जानकारी दिए।

यसैबीच, बेथानचोक गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री-वितरण र प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनामा सार्वजनिक तथा संवेदनशील क्षेत्र वरिपरि सुर्तीजन्य पदार्थ निषेध गर्ने कानुन कडाइका साथ लागू गरिने उल्लेख छ।

गाउँपालिकाले व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई नियम पालना गर्न आग्रह गर्दै उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *