`

शाहीले भने – ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ’

Nepal One HD २० जेठ २०८३ १३:३३
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवादलाई लिएर नेता ज्ञानेन्द्र शाहीले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी गठनको तयारी थालेको चर्चा चलिरहेका बेला शाहीले नेतृत्वप्रति कडा टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौँ। कार्यकर्ताहरू एक अर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन ?’

शाहीले पार्टीभित्रको आन्तरिक द्वन्द्व र पदका लागि भइरहेको प्रतिस्पर्धाले कार्यकर्ता तथा युवापुस्तामा निराशा बढेको आरोप लगाएका छन्।

उनले अध्यक्ष लिङ्देनप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘यतिखेरको समय एक अर्कालाई आरोप लगाएर टुट्ने र फुट्ने होइन, जुट्ने हो। तर तिमीहरूलाई देखेर युवाहरूले के आशा गर्ने ?’

उनले नेताहरूलाई एकताका लागि आह्वान गर्दै भनेका छन्, ‘नेतृत्व भनेको पदमा टाँसिएर बस्ने होइन, आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता हो। एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्। अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन्। यदि तिमीहरूको हिम्मत र दम छ भने ल म बस्छु, तपाईंहरू सँग हामी तीनजना सँगै बसौँ। छलफल गरौँ आउनुहोस्, यो होइन भने यो नाटक किन गरिरहेका छौ ? आफैले आफैलाई भलादमी देखाउन ? तिमीहरूको यो खुरापाती राजनीतिक देखेर भगवान् पनि वाक्क भइसके होलान्।’

नेतृत्व तहप्रति आक्रोश व्यक्त गर्दै उनले थप भनेका छन्, ‘एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्नै मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिनै पर्ने । पदका लागि यति धेरै हानथाप र अहंकार किन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *