कुशलको शतकमा नेपालको विशाल स्कोर, मलेसियासामु २७६ रनको चुनौती
काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स क्रिकेट क्वालिफायरमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो। नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल नायक बने। उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतमा १२६ रनको विस्फोटक शतकीय पारी खेले।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो तेस्रो शतक हो। उनको आक्रामक ब्याटिङले नेपाली टोलीलाई बलियो अवस्थामा पुर्यायो।
आसिफ शेखले पनि उत्कृष्ट प्रदर्शन गर्दै २४ बलमा ६८ रन जोडे। उनले ५ चौका र ७ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाउँदा ४ छक्का र १ चौका हिर्काए।
मलेसियाका लागि विरनदीप सिंहले ३ विकेट लिए भने सैयद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे।
नेपाल र मलेसिया दुवै टोली यसअघि नै आगामी एसियन गेम्सका लागि छनोट भइसकेका छन्। तर क्वालिफायर अन्तर्गतको यस खेलमा नेपालले ब्याटिङमा प्रभुत्व जमाउँदै मलेसियासामु कठिन लक्ष्य खडा गरेको छ।
