देउवादम्पतीविरुद्धको ‘रेड नोटिस’ इन्टरपोलले किन रोक्यो ?
काठमाडौं। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानको दायरामा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजुविरुद्ध नेपाल प्रहरीले अघि बढाएको इन्टरपोल रेड नोटिस प्रक्रिया तत्कालका लागि रोकिएको छ।
स्रोतका अनुसार नेपाल प्रहरीले रेड नोटिस जारी गरिदिन इन्टरपोललाई पत्राचार गरे पनि इन्टरपोलले आवश्यक थप प्रमाण र कानुनी आधार माग गरेपछि उक्त प्रक्रिया ‘होल्ड’मा परेको हो।
देउवादम्पती विगत तीन महिनादेखि विदेशमा रहेका छन्। यसअघि जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा नेपाल प्रहरीले इन्टरपोल प्रक्रियालाई अगाडि बढाएको थियो। तर, सर्वोच्च अदालतले उक्त पक्राउ पुर्जी बदर गरेपछि कानुनी प्रक्रिया पुनः प्रभावित बनेको हो।
अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतबाट नयाँ पक्राउ पुर्जी लिने तयारी गरिरहेको स्रोतले जनाएको छ। विशेष अदालतबाट कानुनी आदेश प्राप्त भएपछि आवश्यक प्रमाणसहित पुनः इन्टरपोलमार्फत रेड नोटिसको प्रक्रिया अघि बढाइने तयारी रहेको बताइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेकाले यस विषयमा थप कानुनी प्रक्रिया अगाडि बढ्ने सम्बन्धित निकायले जनाएको छ।
