समुद्री पूर्वानुमानमा चीनको एआई मोडेल सार्वजनिक
काठमाडौं । चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेका छन्।
यो प्रणालीले आँधी, अत्यधिक वर्षा, समुद्री तरंग तथा समुद्री बरफ जस्ता जटिल घटनाहरूको पूर्वानुमान गर्न सक्ने बताइएको छ।
चीनको शान्दोङ प्रान्तस्थित छिङदाओमा जारी चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा शनिबार उक्त एआई मोडेलको औपचारिक उद्घाटन गरिएको हो।
यो प्रणाली चीनको विज्ञान प्रतिष्ठानअन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानले विकास गरेको हो। संस्थानका अध्यक्ष वाङ फानका अनुसार नयाँ संस्करणले सामान्य मौसम पूर्वानुमानभन्दा अघि बढेर जटिल समुद्री घटनाको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ।
नयाँ एआई प्रणालीले वायुमण्डलीय तथा समुद्री तथ्याङ्क, उपग्रहबाट प्राप्त बादलका तस्वीरहरू र ऐतिहासिक आँधी मार्गहरूको विश्लेषण गरी पूर्वानुमान तयार गर्छ। यसले आँधीको अचानक दिशा परिवर्तन र तीव्र रूपमा शक्तिशाली बन्ने प्रक्रिया जस्ता जटिल अवस्थाको पनि पूर्वानुमान गर्न सक्ने बताइएको छ।
विशेषज्ञहरूका अनुसार यो प्रविधिले तटीय क्षेत्रका बासिन्दालाई समयमै चेतावनी दिन सक्ने भएकाले ठूलो जनधन क्षति रोक्न मद्दत पुग्नेछ।
यस प्रणालीले समुद्रभित्र उत्पन्न हुने शक्तिशाली तर अदृश्य तरंगहरूको पनि पहिचान गर्न सक्छ, जसले तेल प्लेटफर्म तथा समुद्री संरचनामा जोखिम निम्त्याउन सक्छन्। यसले यस्ता तरंगहरूको ३० दिनसम्मको विकासक्रम र सात दिनसम्मको गति तथा उचाइसम्बन्धी पूर्वानुमान गर्न सक्ने उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय समुद्री बरफ पूर्वानुमान सञ्जालद्वारा गरिएको मूल्याङ्कनमा यो प्रणालीले सन् २०२५ को सेप्टेम्बर महिनाको आर्कटिक समुद्री बरफ क्षेत्रफल पूर्वानुमानमा विश्वका अन्य मोडेलहरूलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको बताइएको छ।
यो एआई मोडेलले करिब ३ किलोमिटर उच्च रिजोल्युसनमा मासिक स्तरको समुद्री बरफ पूर्वानुमान गर्न सक्ने क्षमता राख्छ, जुन आर्कटिक जलयात्रा, जलवायु अध्ययन र ध्रुवीय नेभिगेसन सुरक्षाका लागि महत्वपूर्ण मानिन्छ।
अनुसन्धानकर्ताहरूका अनुसार प्रणालीले अवलोकन तथ्याङ्क, भौतिक विज्ञानका सिद्धान्त र कृत्रिम बुद्धिमत्ताको तर्क क्षमतालाई संयोजन गरेर अझ छिटो र सटीक पूर्वानुमान सेवा दिनेछ।
भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोडेर समुद्री बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने योजना रहेको वैज्ञानिकहरूले बताएका छन्।
