`

रास्वपा जिल्ला अधिवेशन : रवि भर्सेस बालेन

Nepal One HD २५ जेठ २०८३ ११:३४
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वमा संस्थापन पक्ष अर्थात सभापति रवि लामिछाने पक्षको प्रभाव बलियो देखिएको छ।

शनिबार र आइतबार सम्पन्न पहिलो चरणका ५० भन्दा बढी जिल्ला अधिवेशनमा अधिकांश स्थानमा सभापति लामिछानेनिकट नेताहरू निर्वाचित भएका हुन्।

पार्टी स्रोतका अनुसार अधिवेशनअघि रास्वपाभित्र वालेन्द्र शाह(बालेन) समूह र पूर्व विवेकशील साझा पार्टीबाट आएका नेताहरूको समेत समायोजन गरिएको थियो। पार्टी नेतृत्वले उनीहरूलाई केन्द्रीय समिति तथा विभिन्न विभागमा जिम्मेवारी दिएर समेट्ने प्रयास गरेको थियो। यही आधारमा आगामी महाधिवेशन पनि सहमतिमै सम्पन्न गर्ने तयारी रहेको बताइँदै आएको थियो।

महामन्त्री भूपदेव शाहले यसअघि रास्वपाको महाधिवेशनलाई ‘एकताको महाधिवेशन’का रूपमा अघि बढाउने र सबै पक्षलाई समेटेर नेतृत्व चयन गर्ने समझदारी बनेको बताएका थिए। तर जिल्ला तहको निर्वाचन परिणामले भने संस्थापन पक्षको पकड अझ बलियो भएको संकेत दिएको छ।

पार्टीका केही नेताहरूका अनुसार अधिवेशनका क्रममा कतिपय जिल्लामा ‘रवि समूह’ र ‘बालेन समूह’ भनेर अनौपचारिक रूपमा दुई धार देखिएको थियो। पदका आकांक्षीहरूले आफू कुन समूहसँग नजिक रहेको भन्ने प्रचारसमेत गरेको बताइन्छ। यद्यपि, केन्द्रीय नेतृत्वले कुनै पनि पक्षमा हस्तक्षेप नगरी निर्वाचन प्रक्रियालाई अगाडि बढाएको दाबी गरिएको छ।

नुवाकोट, काभ्रेपलाञ्चोक, सुनसरी, मोरङ, रसुवालगायत जिल्लामा यसअघि तदर्थ समितिमा रहेका नेताहरू नै पुनः सभापतिमा निर्वाचित भएका छन्। झापामा केन्द्रीय संगठन विभाग सदस्य ओमनाथ भण्डारी जिल्ला सभापति बनेका छन् भने बागमती प्रदेश सदस्य राजन अर्याल धादिङ जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उनले तदर्थ सभापति सूर्यमणि पाठकलाई पराजित गरेका थिए।

रास्वपाको संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठका अनुसार डोल्पा, हुम्ला, मनाङ र मुस्ताङबाहेक अन्य सबै जिल्लाको अधिवेशन जेठ २६ गतेभित्र सम्पन्न गर्ने तयारी छ। उनका अनुसार चुनाव भएका जिल्लाहरूमा कार्यकर्ताले आफ्नो रोजाइअनुसार मतदान गरेका कारण समायोजनबाट आएका केही नेताहरू नेतृत्वमा पुग्न नसकेका हुन सक्छन्।

उनले पार्टीले जिल्ला अधिवेशनमा गुटगत प्यानल बनाएर चुनाव लड्न नदिएको स्पष्ट पारे। केही स्थानमा ‘नयाँ’ र ‘पुराना’ नेताबीच प्रतिस्पर्धा देखिए पनि आधिकारिक रूपमा कुनै समूहगत प्रतिस्पर्धालाई मान्यता नदिइएको उनको भनाइ छ।

रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले पनि धेरै आकांक्षी भएका कारण कतिपय जिल्लामा सहमति जुट्न नसकी निर्वाचन गर्नुपरेको बताएकी छन्। उनका अनुसार जहाँ सहमति सम्भव भयो त्यहाँ सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने अन्यत्र लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो।

पार्टीभित्र पछिल्लो समय विभिन्न दलबाट प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको र जिल्ला तहमा नयाँ अनुहारप्रति कार्यकर्ताको आकर्षण देखिएको नेताहरूको विश्लेषण छ। उनीहरूका अनुसार अधिवेशनले पार्टीभित्र पुरानो शैलीको शक्ति सन्तुलन परिवर्तन हुँदै गएको संकेत दिएको छ।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म पहिलो एकता महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुनेछन्।

पार्टीभित्र सभापति रवि, वरिष्ठ नेता शाह र उपसभापति स्वर्णिम वाग्लेलाई पुनः नेतृत्वमा निरन्तरता दिने विषयमा प्रारम्भिक समझदारी बनेको बताइएको छ।

कार्यकर्ताहरूमा अहिले पनि रवि लामिछानेप्रति उच्च अपेक्षा र भरोसा रहेको देखिन्छ। जिल्ला अधिवेशनको परिणामले पनि संस्थापन नेतृत्वप्रतिको विश्वास अझै बलियो रहेको सङ्केत गरेको विश्लेषकहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *