`

काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा

Nepal One HD २६ जेठ २०८३ ९:३८
राजनीति

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘जो बेसहारा, काठमाडौँ महानगरपालिकाको अभिभारा’ नारासहित सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्नुभयो ।
उहाँले अभियानको सफल कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गर्नुभएको छ ।

आगामी दिनमा सडक वा सार्वजनिकस्थलमा भेटिन सक्ने सहयोगापेक्षीको व्यवस्थापनका लागि सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौतामा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डङ्गोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि आफ्नो धारणा राख्दै कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँलाई सांस्कृतिक सहरका साथै मानवतामा आधारित सहरको पहिचान स्थापित गराउन सडक सहयोगापेक्षी मानवमुक्त काठमाडौँ घोषणा गरिएको बताउनुभयो ।

कार्यक्रममा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवता प्रवर्द्धनमा अब कमजोरी गर्न नहुने बताउनुभयो । यस कार्यमा सबै जिम्मेवार हुनुपर्नेमा उहाँको जोड थियो । महानगरपालिकाले विसं २०७४ देखि मानव सेवा आश्रमसँगको सहकार्यमा औसतमा वार्षिक करिब रु दुई करोड खर्च गरिरहेको छ ।

कार्यक्रममा मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले सञ्चालन गरेको मेची महाकाली अभियानको पनि समापनको घोषणा गरिएको छ । यस अवधिमा एक सय ९७ जना सहयोगापेक्षीको उद्धार र व्यवस्थापन गरिएको मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले मानवता प्रवर्द्धनका लागि महत्त्वपूर्ण सम्झौता भएको भन्दै उक्त दिनलाई आफूले पवित्र दिनका रूपमा सम्झने उल्लेख गर्नुभयो ।

समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संस्कृतिविद् तथा आश्रमका संरक्षक डा गोविन्द टण्डनलगायत वक्ताले आफ्नो धारणा राख्नुभएको थियो ।

सम्झौताका पक्षहरू र अन्य सम्बद्ध निकाय तथा पदाधिकारीहरूको नियमित बैठक, सम्झौताको प्रभावकारी कार्यान्वयन योजना, कार्यक्रम तथा स्रोतसाधनको प्रबन्ध मिलाउन एक समन्वय समिति रहने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *