सुधनलाई सुनपानीले ‘चोख्याएर’ गृहमा फर्काइ छाडे बालेनले
काठमाडौं। जेनजी विद्रोहका क्रममा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङ पुन: गृहमन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले गृहमन्त्रीमा पुनः गुरुङलाई फर्काउने तयारी गरेका हुन्।
मंगलवार नै शपथ हुने तयारी भए पनि राष्ट्रपति कार्यालयलाई प्रारम्भिक तयारीका लागि सूचना पठाइएको बताइएको छ ।
गुरुङ जेनजी विद्रोहपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए।
‘हामी नेपाल’ संस्थामार्फत परिचित भएका गुरुङ पछि रास्वपाबाट गोरखा-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी गृहमन्त्री बनेका थिए।
गुरुङ गृहमन्त्री बनेपछि केही विवादास्पद निर्णय र गतिविधिका कारण आलोचनामा परे। सम्पत्ति विवरणमा देखिएको असंगति तथा केही व्यापारीसँगको सम्बन्धलाई लिएर उठेका प्रश्नपछि उनले राजीनामा दिनुपरेको थियो।
उनी गृहमन्त्री पदमा जम्मा २७ दिन मात्र टिकेका थिए। ९ वैशाखमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेपछि उनले पदबाट राजीनामा दिएका थिए।
गुरुङ यसअघि पनि विवादमा परेका थिए। उनले पद सम्हाल्ने बित्तिकै गरेका केही निर्णय, पक्राउ आदेश र प्रक्रियागत प्रश्नका कारण आलोचना भएको थियो।
त्यसपछि उनको सम्पत्ति तथा गतिविधिबारे अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
समितिले हालै सरकारलाई बुझाएको प्रतिवेदनमा गुरुङविरुद्ध ठोस कानुनी प्रमाण नभएको र कुनै ठूलो अनियमितता पुष्टि नभएको निष्कर्ष निकालिएको बताइएको छ।
सोही प्रतिवेदन सरकारले ग्रहण गरेसँगै उनी पुनः गृहमन्त्री बन्ने बाटो खुलेको हो।
तर मन्त्रिपरिषद्ले औपचारिक निर्णय सार्वजनिक नगर्दै शपथको तयारी अघि बढेपछि राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेका छन्।
मन्त्रिपरिषद् बैठकले आजै सो छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। तर सरकारका प्रवक्ता सस्मित पोखरेलले तत्काल गृहमन्त्री नियुक्तिको औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन्।
प्रवक्ता पोखरेलले भने, ‘बल्ल प्रतिवेदन ग्रहण भयो। अब त्यसलाई अध्ययन गरेपछि आवश्यक निर्णय हुन्छ। फाइल ग्रहण गरेर, अध्ययन गरेपछि मात्रै शपथ ग्रहण हुने होला नि, पछि गर्नुपर्यो भने। अहिलेलाई फाइल ग्रहण गर्ने मात्रै निर्णय भएको छ। मन्त्रिपरिषद्मा त्यस्तो निर्णय भएको छैन।’
निर्णय अर्कै र काम अर्कै हुँदा सरकारको पारदर्शिता माथी समेत प्रश्न उठाउने ठाउँ रहेको विश्लेषकहरुको तर्क छ।
यद्यपि आफ्नै मान्छे,आफ्नै सरकार,आफ्नै छानबिन समिति,अनि कर्मकाण्डी प्रकिया मिलाएर क्लीन चिट दिइहाल्छ भनेर समेत आलोचना हुने गरेको थियो।
राजीनामा दिँदै गर्दा सुधनले यस्तो भनेका थिए :
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ। सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइबहिनीहरूको रगत र बलिदानको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ। कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ ‘स्वीट शेयर’ छ, बिस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
फर माइ कन्ट्री एन्ड फर द रिस्पेक्ट अफ आवर सेक्युरिटी फोर्सेस एन्ड फर द युथ्स अफ नेपाल।
सामाजिक सञ्जालमा यस्तो लेख्दै गृहमन्त्री पद छाडेका गुरुङ अब भने ‘क्लिनचिट’ पछि उनी पुनः सोही जिम्मेवारीमा फर्किन लागेका छन्।
