विश्वकप २०२६ : कुन-कुन कलाकारले दिँदैछन् प्रस्तुति ?
काठमाडौं। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ बिहिवारबाट औपचारिक रूपमा सुरु हुँदैछ।
इतिहासमै पहिलो पटक यो प्रतियोगिता तीन देश संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् भने उद्घाटन समारोह पनि तीनै देशमा छुट्टाछुट्टै भव्य सांगीतिक कार्यक्रमसहित हुने भएको हो ।
फिफाका अनुसार यसपटकको विश्वकपलाई केवल खेलकुद प्रतियोगिता मात्र नभई विश्वव्यापी सांस्कृतिक महोत्सवका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। त्यसअनुसार उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय पप स्टारदेखि क्षेत्रीय तथा स्थानीय संगीत क्षेत्रका चर्चित कलाकारहरूको विशाल सहभागिता रहनेछ।
प्रतियोगिताको पहिलो उद्घाटन खेल जुन २८ गते मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा हुनेछ। यही अवसरमा मेक्सिकोमा विशेष उद्घाटन समारोह आयोजना गरिँदैछ, जसलाई ल्याटिन अमेरिकी संस्कृति, संगीत र पहिचानको उत्सवका रूपमा प्रस्तुत गरिनेछ।
मेक्सिकोको कार्यक्रममा देशकै सुपरस्टार अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, जे बाल्भिन, ड्यानी ओसियन, प्रख्यात ब्यान्ड मना, लस एन्जलस अजुलसका साथै लिला डाउन्स र टाएला लगायत कलाकारले प्रस्तुति दिनेछन्। उनीहरूको प्रस्तुति परम्परागत र आधुनिक संगीतको मिश्रणमा आधारित हुने बताइएको छ।
संयुक्त राज्य अमेरिकामा हुने पहिलो खेलअघि हुने विशेष उद्घाटन शोलाई विश्वस्तरीय मनोरञ्जन कार्यक्रमका रूपमा प्रस्तुत गरिनेछ। यहाँ ग्लोबल पप संगीतका चर्चित अनुहारहरूको सहभागिता रहनेछ।
यस कार्यक्रममा केटी पेरी, ब्राजिलकी सुपरस्टार अनिता, कोलम्बियाली फुएर्जा रेजिडा, के-पप समूह ब्ल्याकपिङ्ककी लिसा, नाइजेरियाली अफ्रोबिट्स स्टार रिमा तथा गायिका टायला लगायत कलाकारहरूले प्रस्तुति दिनेछन्। कार्यक्रमलाई आधुनिक पप संस्कृति र विश्व संगीतको संगमका रूपमा हेरिएको छ।
त्यस्तै क्यानडामा हुने खेलअघि हुने उद्घाटन समारोह पनि अत्यन्त भव्य हुने अपेक्षा गरिएको छ। यहाँ क्यानडाका प्रतिष्ठित कलाकारहरूका साथै अन्तर्राष्ट्रिय संगीत क्षेत्रका विभिन्न शैलीका कलाकारहरूको प्रस्तुति रहनेछ।
क्यानडाको कार्यक्रममा रक लिजेन्ड अलानिस मोरिसेट, ज्याज तथा पप गायक माइकल बबल, पप गायिका एलिसिया कारा, आर एन्ड बी स्टार जेसी रेयेज तथा बलिउडकी चर्चित कलाकार नोरा फतेहीसहित सन्जोए, भेगेड्रिम, एलिएना र विलियम प्रिन्स लगायत कलाकारहरू सहभागी हुनेछन्।
फिफाले यसपटकको विश्वकपलाई इतिहासकै सबैभन्दा ठूलो र बहुआयामिक संस्करण बनाउने लक्ष्य राखेको छ। तीन देशमा हुने उद्घाटन समारोह, विविध सांगीतिक शैली र विश्व चर्चित कलाकारहरूको सहभागिताले प्रतियोगितालाई केवल खेलकुदको सीमाभन्दा बाहिर लैजाने अपेक्षा गरिएको छ।
विश्व फुटबलको यो महाकुम्भले खेल, संस्कृति र मनोरञ्जनलाई एउटै मञ्चमा ल्याएर दर्शकलाई नयाँ अनुभव दिने फिफाको दाबी छ।
