यस्तो रह्यो विश्वकप-२०२६ को उद्घाटन(तस्बिरहरु)
काठमाडौं । फिफा विश्वकप २०२६ औपचारिक रूपमा सुरु भएको छ। गएराति मेक्सिको सिटीस्थित ऐतिहासिक स्टेडियममा आयोजित भव्य समारोहसँगै विश्व फुटबलको महाकुम्भको पर्दा खुलेको हो।
उद्घाटन समारोहमा हजारौं दर्शकको उपस्थितिबीच रंगीन सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन तथा टायला लगायतले आफ्नो प्रस्तुति दिँदा स्टेडियम उत्सवमय बनेको थियो।
समारोहपछि भएको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
रोचक र प्रतिस्पर्धात्मक बनेको खेलमा तीन खेलाडीले रातो कार्ड सामना गरे। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वाने मैदानबाट बाहिरिए भने खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्ड पाएका थिए।
यसैबीच, संयुक्त राज्य अमेरिकामा जुन १२ देखि विश्वकपका खेलहरू सुरु हुनेछन्। लस एन्जलसमा आयोजना हुने उद्घाटन समारोहमा अमेरिकी सांस्कृतिक विविधता, संगीत र मनोरञ्जन उद्योगलाई झल्काउने विशेष कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।
उद्घाटन समारोहपछि आयोजक अमेरिका र पाराग्वेबीचको खेलमार्फत अमेरिकी भूमिमा विश्वकपको प्रतिस्पर्धा सुरु हुनेछ।
त्यस्तै, क्यानडाको टोरन्टोमा पनि जुन १२ मै विश्वकपको उद्घाटन कार्यक्रम आयोजना हुँदैछ। पहिलोपटक विश्वकप आयोजना गरिरहेको क्यानडाले आफ्नो राष्ट्रिय पहिचान, संस्कृति र विविधतालाई विश्वसामु प्रस्तुत गर्ने तयारी गरेको छ। मेक्सिको र अमेरिकाले भने यसअघि पनि विश्वकप आयोजना गरिसकेका कारण प्रतियोगिता सञ्चालनको अनुभव हासिल गरिसकेका छन्।
तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको विश्वकप २०२६ फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा हेरिएको छ।
तस्बिरहरु : एपी/रासस







