`

कतार र स्विट्जरल्यान्डबीचको खेल बराबरीमा

Nepal One HD ३१ जेठ २०८३ ११:२६
खेलकुद

काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी निकालेको छ। यस नतिजासँगै कतारले विश्वकप इतिहासमा पहिलो पटक अंक जोड्न सफल भएको छ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार सम्पन्न खेलमा स्विट्जरल्यान्ड जिततर्फ अग्रसर देखिएको थियो। तर इन्जुरी समयको चौथो मिनेटमा बुआलेम खौखीले होमाम एल अमिनको उत्कृष्ट क्रसलाई हेडमार्फत जाली चुमाउँदै कतारलाई महत्वपूर्ण बराबरी दिलाए।

बराबरी गोलसँगै कतारी खेलाडी र समर्थकहरू उत्साहित बने भने प्रशिक्षक जुलेन लोपेटेगुईको टोलीले ऐतिहासिक उपलब्धिको खुसी मनायो।

खेलको सुरुआती समयदेखि नै स्विट्जरल्यान्डले दबाब कायम राखेको थियो। पहिलो हाफको १७औँ मिनेटमा ब्रिल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। रेमो फ्रुयलर कतारी गोलरक्षक महमुद अबुनादासँगको चुनौतीमा लड्न पुगेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

यद्यपि उक्त निर्णयलाई लिएर विवाद पनि उत्पन्न भयो। टेलिभिजन रिप्लेमा फ्रुयलर पेनाल्टीको अवस्थाअघि अफसाइडमा रहेको देखिएपछि निर्णयमाथि प्रश्न उठाइएको थियो।

सन् २०२२ को विश्वकपमा आयोजक राष्ट्रका रूपमा सहभागिता जनाएको कतारले आफ्ना सबै खेल गुमाएको थियो। तर यसपटक उसले विश्वकप इतिहासमै पहिलो अंक सुरक्षित गर्दै नयाँ अध्याय लेख्न सफल भएको छ।

स्विट्जरल्यान्डले भने खेलभरि सिर्जना गरेका अवसरहरूको पूरा लाभ उठाउन सकेन। डान एन्डोये, रुबिन भार्गास र ब्रिल एम्बोलोले पाएका केही उत्कृष्ट अवसर गोलमा परिणत हुन नसक्दा टोलीले तीन अंक गुमाउन पुग्यो।

खेलको अन्त्यतिर स्विट्जरल्यान्डले लय गुमाएको फाइदा उठाउँदै कतारले लगातार दबाब सिर्जना गर्‍यो र अन्ततः इन्जुरी समयमा बराबरी गोल निकाल्दै एक महत्वपूर्ण अंक आफ्नो पक्षमा पार्न सफल भयो।

अब स्विट्जरल्यान्डले जुन १८ मा बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध दोस्रो समूह खेल खेल्नेछ भने कतारले सोही दिन सह–आयोजक क्यानडासँग भ्यानकुभरमा प्रतिस्पर्धा गर्नेछ।

यसअघि समूहका अर्को खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले पनि १–१ को बराबरी खेलेका थिए। त्यसैले समूह ‘बी’ का चारै टोली समान एक–एक अंकमा रहेकाले नकआउट चरणको दौड थप रोमाञ्चक बनेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *